काभ्रेमा रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, ०८ : ३०
काभ्रेमा रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागुऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो । सुराकका आधारमा पक्रिएका तेमाल गाउँपालिका–७ का तामाङको साथबाट प्रहरीले एक सय ५७ ट्याब्लेट नाइट्राभेट नामक प्रतिबन्धित लागुऔषध बरामद गरेको थियो ।
 
तत्काल प्रहरीले उनको बनेपास्थित डेरामा खानतलासी गर्दा एक सय ३५ ट्याब्लेट नाइट्राभेट फेला पार्यो । इलाका प्रहरी कार्यालय बनेपाले तामाङलाई काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको जनायो । साथै, तामाङसहितका लागुऔषध ओसारपसार गर्ने तथा प्रयोगकर्ताको खोजीकार्य भइरहेको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । 

यसअघि गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा लागुऔषधका १५ मुद्दा दर्ता भएका छन् । सेवनका आठ र ओसारपसारका सात मुद्दामा ३२ जना संलग्न रहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए । उनका अनुसार आव २०७९÷८० मा सात मुद्दा दर्ता भएका थिए । अठारदेखि २५ वर्ष उमेर समूहका १२ पुरुष, २६ देखि ३५ उमेर समूहका १५ पुरुष, ३६ देखि ४५ उमेर समूहका दुई पुरुष र ४६ देखि ५९ उमेर समूहका दुई पुरुष र एक महिलालाई लागुऔषध सेवन तथा ओसारपसारमा मुद्दा चलाइएको छ ।
 
कार्यालयका अनुसार प्रहरीले हालसम्म लागुऔषध ओसारपसारका क्रममा तीन सय २५ किलो गाँजा र ३८ ग्राम खेरो हिरोइन बरामद गरेको छ । यस्तै सेवनका क्रममा डाइजिपाम चार एम्पुल, नोफिन तीन एम्पुल, फेनारगन दुई एम्पुल, नाइट्राभेट आठ सय दुई ट्याब्लेट, कोरेक्स तीन बोतल बरामद गरेको प्रहरीले जनाएको छ । बितेको आवमा २० हजार गाँजाका बोट फडानी गरिएको छ भने विभिन्न स्थानमा २० पटक गरेर पाँच सय ८३ जनालाई सचेतना कार्यक्रम गरिएको जनाइएको छ । गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध नेपालको कानुनद्वारा निषेधित हो भने सुर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थ हो ।

घटनाक्रमले सुराकका आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । साथै, बिपी राजमार्गबाट अधिकांश रूपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको तथ्याङ्कबाट देखिन्छ ।