बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

सफल खबर संवाददाता

आइतबार, ०६ असोज २०८१, ०८ : ४५
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो । 

जिल्लामा हाल करिब १० हजार लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनले बताए । “लागुऔषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको छ”, उनले भने, “दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवाले दुव्र्यसनमा लागेर जीवन बर्बाद गरिरहेका छन् ।” जिल्लामा रहेका १० हजार प्रयोगकर्तामध्ये एक हजार पाँच सय महिला रहेको उनको अनुमान छ । 

यहाँ लागुऔषध न्यूनीकरणका लागि २० वटा पुनःस्थापना केन्द्र रहेका छन् भने तीमध्ये दुई महिला पुनःस्थापना केन्द्र छन् । “बीस पुनःस्थापना केन्द्रमार्फत चार सय लागुऔषध प्रयोगकर्तालाई स्वास्थ्य तथा व्यवहार परिवर्तनका लागि सेवा प्रवाह गरिएका छौँ । दुई महिला पुनःस्थापना केन्द्रमा ५० महिलालाई राखेर सुधारको प्रयास भइरहेको छ”, संयोजक महर्जनले भने । 

पछिल्लोपटक लागुपदार्थ प्रयोगको स्वरुपसमेत परिवर्तन भएकाले अवस्था थप चुनौतीपूर्ण बन्दै गएको लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले बताए । विगतमा धुँवाका रूपमा प्रयोग हुने ब्राउनसुगर अहिले तरल बनाएर सुईको माध्यमबाट प्रयोग हुने गरेको पाइएको उनले जानकारी दिए । नेपालगञ्ज हुँदै लागुपदार्थ अफिम र चरेस भारततर्फ जाने र भारतबाट ब्राउन सुगरलगायत मनोदिपक पदार्थ (नार्कोटिक ड्रग) नेपाल भित्रने गरेको जानकारी दिनुहुँदै क्षेत्रीले समस्या समाधानका लागि राजनीतिक दल र राज्यले थप प्रभाकारी कार्यक्रम अगाडि सार्नुपर्ने आवश्यकता औँल्याए । 

लागुऔषध कारोबार बढ्दै जाँदा यहाँका युवापुस्ता दुव्र्यसनको उच्च जोखिममा छन् । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा पनि लागुऔषध कारोबार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले लागुऔषध नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन भइरहेको बताए। उनले सबै मिलेर समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए।

डाँगीकानुसार गत आर्थिक वर्ष २०८०–८१ मा जिल्ला प्रहरी कार्यालयमा लागुऔषधका एक सय ७७ मुद्दा दर्ता भएका थिए । लागुऔषधमा संलग्न दुई सय ६४ लाई पक्राउ गरी नौ सय २५ ग्राम बढी ब्राउनसुगर नियन्त्रणमा लिइएको थियो । त्यसअघि   आव २०७९–८० मा एक सय ५७ मुद्दा दर्ता भएकामा दुई सय ३६ जना पक्राउ पर्नुका साथै आठ सय ८२ ग्राम ब्राउनसुगर र छ किलो गाँजा बरामद गरिएको थियो ।