लुम्बिनी र बाग्मतीमा आज नयाँ सरकार बन्दै, गिरी र लामा मुख्यमन्त्री बन्ने

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०८१, ०९ : २८
लुम्बिनी र बाग्मतीमा आज नयाँ सरकार बन्दै, गिरी र लामा मुख्यमन्त्री बन्ने

काठमाडौ । बाग्मती र लुम्बिनी प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ । अल्पमतमा परेका दुवै प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएपछि आज एमाले–कांग्रेसको नयाँ समीकरणअनुसार नयाँ सरकार बन्न लागेको हो । 

दुवै प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार नै प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरेका थिए । यसअघि आइतबार नै बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए । 

त्यसलगत्तै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका दावी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् । 

यस्तै, बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम   सरकार गठनका लागि दाबी पेस गर्न साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् । 

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका दावी पेश गर्नुपर्छ ।

लुम्बिनीमा अब एमाले नेतृत्वमा नयाँ सरकार बन्ने छ । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । त्यसको लागि आज दिउँसो १ बजे प्रमुख प्रमुख समक्ष एमाले र कांग्रेससहित साना दलको पनि हस्ताक्षरसहित दाबी पेश गर्ने दलहरूको तयारी छ ।

एमाले प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्रीमा लिला गिरीको दाबी पेश गर्ने बताए । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।

प्रदेशसभा एमालेका २९ र कांग्रेसको २७ मत छ । जुन सरकार गठनको लागि झण्डै दुईतिहाइ नजिकको मत हो । गिरी यसअघि ३ महिना मुख्यमन्त्री बनेका थिए ।

यसैगरी बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले पनि आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्। 

प्रतिक्रिया दिनुहोस