अर्थमन्त्रीलाई भेटेर चेम्बरले भन्यो- कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, २० : १४
अर्थमन्त्रीलाई भेटेर चेम्बरले भन्यो- कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसंग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव सहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेतबार्ता गरेको हो ।

अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

अध्यक्ष अग्रवालले भने, ‘अर्थतन्त्र शिथिलताबाटै गु्रज्रिरहेको छ । आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यक्ता छ, ।’

कालो सूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरुलाई उद्योग व्यवसायको प्रकृति हेरेर आवश्यक्ता अनुसार बैंक तथा वित्तीय संस्थासंगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुर्नतालिकीकरण गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । 

कर्जाको पुर्नतालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरुमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धरासायीहुनबाट जोगाउन सकिन्छ । 
चेम्बर केन्द्रीय समितिका सदस्यहरुसंग उपप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्वोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस