काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए ।
सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन् ।श्रम कानूनका ज्ञाता रहेका बडाल यसअघि लामो समय एमाले समर्थित श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध थिए । महान्यायाधिवक्ता नियुक्त हुनुअघि उनी एमालेको कानून विभागका प्रमुख हुन् ।
महान्यायाधिवक्ता पदमा दोहोरिनेमा बडाल तेस्रो व्यक्ति हुन् । यसअघि मोतीकाजी स्थापित र प्रेमबहादुर विष्ट दुई पटक महान्यायाधिवक्ता बनेका थिए । यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्ता दिनमणिले दिए राजीनामा
गृहमन्त्रीलाई पत्र दिएको विषयमा महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
महान्यायाधिवक्ताको कार्यालयबाट पनि रविलाई क्लिन चिट