सुदूरपश्चिममा तीन राजनीतिक दलले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, १३ : १९
सुदूरपश्चिममा तीन राजनीतिक दलले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

धनगढी । सुदूरपश्चिमका तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने, ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ । उहाँले विश्वासको मत लिन खोजे पनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन । अल्पमतको सरकारले केही ठुला निर्णयहरू पनि गर्न सक्दैन । त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौँ ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा) प्रमुख सचेतक वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता थियो ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नयाँ गठबन्धन बनेपछि असार १ गते पेस भएको बजेटमाथिको छलफल हुन सकेको छैन । यसैबिच सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सहितको सर्वदलीय बैठक बोलाएका थिए । तर सो बैठकको छलफल पनि अगाडि बढ्न नसकेको हो ।

अन्योलमा रहेको बजेटबारे छलफल गर्न बोलाइएको बैठकमा कांग्रेस र एमालेले अल्पमतको सरकारले तत्काल मार्ग प्रशस्त गर्न माग गरेपछि छलफलले सार्थक नपाउँदै टुङ्गिएको थियो ।

प्रतिक्रिया दिनुहोस