साताको नेप्से परिसूचक ८४ अंकले बढ्दा २८ अर्बको कारोबार

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, १२ : ००
साताको नेप्से परिसूचक ८४ अंकले बढ्दा २८ अर्बको कारोबार

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बाणिज्य बैंकहरुमा तरलता बढ्दै जाँदा र अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेसँगै सेयर बजारमा त्यसको प्रभाव परेको हो ।

यस्तै यो साता नेप्से परिसूचक बढ्नुको मूख्य कारणका रुपमा अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चाले समेत काम गर्यो ।  अर्थ मन्त्रालयमा विष्णु पौडेलको नाम आउनसाथ सेयर बजारमा उत्साह थपिने गरेको विगतको अनुभव छ ।

पौडेलले सेयर बजारमैत्री नीति लिने लगानीकर्ताको भनाई छ । यद्यपि पौडेलले नै नयाँ बन्ने सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने टुंगो लागिसकेको छैन ।यो साताको पहिलो कारोबार दिन आइतबार २११९ अंकबाट कारोबार सुरु भएको थियो । सो दिन २१.२७ अंकले परिसूचक बढ्यो ।

यस्तै सोमबार ४.६२ अंकले घट्नु बाहेक यो साता अन्य कुनै पनि दिन नेप्सेमा गिरावट आएन ।  मंगलबार १५.७९ अंक, बुधबार २३.२५ अंक र बिहीबार २९.२१ अंकले परिसूचक बढ्यो ।यससँगै यो साता नेप्से परिसूचक २२०४ अंकमा पुगेर रोकियो । यो विगत लामो समययताको उच्च बिन्दु हो । यो सातामा आएको ४ प्रतिशत अर्थात ८४ अंकको वृद्धि हो ।

साउन पहिलो सातामा आउने मौद्रिक नीति लगानीमैत्री आउने लगानीकर्ताको आकलन हुँदासमेत परिसूचक बढेको हो । साताको पाँच कारोबार दिनमा नेप्से परिसूचकमा २८ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भयो ।

साताको अन्तिम दिन विहीबार ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । यो साताको सबैभन्दा धेरै कारोबार हो । यस्तै यो साता नेप्से पूँजीकरणमा समेत ४ प्रतिशतको वृद्धि आएको छ ।

गत साताको अन्तिम कारोबार दिनमा ३३ खर्ब ६२ अर्ब रुपैयाँ रहेको नेप्से बजार पूँजीकरण यो साता ३४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । यो १ खर्ब ३४ अर्ब रुपैयाँको वृद्धि हो।

प्रतिक्रिया दिनुहोस