आगामी फागुन १५ गते त्रिविमा स्ववियु निर्वाचन हुने

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, १० : ३९
आगामी फागुन १५ गते त्रिविमा स्ववियु निर्वाचन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले २०८१ सालको शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै स्ववियु निर्वाचन २०८१ फागुन १५ गते स्ववियु निर्वाचन गर्ने समेत निर्णय गरेको हो ।

शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको हो । त्यस्तै अर्को निर्वाचन २०८३ को फागुन १४ गते हुनेछ ।यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन गरेको थियो। चैत ५ गते त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये उक्त दिन ४४ मा निर्वाचन भएको थियो ।

केही आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा पछि समेत निर्वाचन भएको थियो । लामो समयपछि त्रिविले स्ववियु निर्वाचन गराउन सफल भएको थियो ।हरेक दुई वर्षमा स्ववियु निर्वाचन गराउनुपर्ने त्रिविको कानुनी प्रावधान छ । तर लामो समयदेखि निर्वाचन हुने सकेको थिएन ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै निर्वाचनका लागि ग्रिन सिग्नल दिएपछि २०७९ मा निर्वाचन सम्पन्न भएको थियो ।यो पटक भने त्रिविले आफ्नो शैक्षिक क्यालेन्डरमा नै निर्वाचनको मिति समेत राखेको छ । आगामी दुई वर्षपछि हुने निर्वाचनको मिति समेत अहिले नै तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस