देशलाई प्रयोगशालाबाट माथि उठाउन कांग्रेस र एमाले मिल्नुपर्‍यो : योगेश भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८१, १४ : ४८
देशलाई प्रयोगशालाबाट माथि उठाउन कांग्रेस र एमाले मिल्नुपर्‍यो : योगेश भट्टराई

काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले देशलाई प्रयोगशाला हुनबाट रोक्न दुई ठूला दल मिल्नुपरेको बताएका छन् ।प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा भइरहेको छलफलमा योगेशले अब जनताको सपनालाई जागृत गराउने गरी दुई दल मिलेको बताएका हुन् ।

‘दुई प्रमुख दल मिलेर सरकार बनाउने विषयलाई सहज रुपमा लिइँदैन । तर कांग्रेस र एमाले कठोर निर्णयमा पुग्नुपर्‍यो,’ भट्टराईले भने, ‘देशलाई कहिलेसम्म प्रयोगशाला बनाइरहने ? जनताको सपनालाई जागृत बनाउनैपर्छ । देशलाई प्रयोगमात्रै गर्न कदाचित उचित होइन ।’

देशलाई दीर्घकालीन हित हुने गरी अगाडि बढाउन आवश्यक भइसकेको उनले बताए । कांग्रेससँग असार १७ गते भएको सहमतिलाई आम नेपालीको बनाउन खोजेको उनले बताए ।

‘१७ गते सहमति कांग्रेस र एमालेबीच मात्रै होइन आम जनताको सहमति बनाउन चाहन्छौं । सबै दलको सहमतिमा राष्ट्रिय सहमति बनाउन खोजेका हौं,’ उनले भने, ‘संविधान संशोधन, अर्थतन्त्रमा सुधार, रोजगारीमा वृद्धि, लगानीको वातावरण बनाउन हामी मिलेर काम गर्छौ ।’

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस