मध्यरात कांग्रेस–एमालेबीच भएको सम्झौता पश्चगामी : देव गुरुङ

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, १५ : १६
मध्यरात कांग्रेस–एमालेबीच भएको सम्झौता पश्चगामी : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन् । बुधबार संवाद डबलीले गरेको कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए । गुरुङले भने, ‘संविधानको जग वृहत शान्ति सम्झौता हो, वृहत शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो ।

मध्यरात षड्यन्त्रमूलक ढंगबाट संविधान संशोधनको सहमति गरेर उपलब्धीलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’ उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए । महासचिव गुरुङले प्रधानमन्त्री प्रचण्डले राजिनामा नलिने बताए ।

उनले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको (३) अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी समेत गरे । गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्यख्या यहाँ मेल नखाने समेत दाबी गरे । महासचिव गुरुङले एमालेले अहिले नै समिकरण छोड्नुपर्ने कुनै कारण नभएको बताए । उनले आन्तरिक रुपमा झिनामसिना कुरा भएपनि काँग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको बताए ।

प्रतिक्रिया दिनुहोस