पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ– 'हिजो साँझसम्म पनि ओलीजीले केही होइन भन्दै हुनुहुन्थ्यो'

सफल खबर संवाददाता

मंगलबार, १८ असार २०८१, १२ : २९
पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ– 'हिजो साँझसम्म पनि ओलीजीले केही होइन भन्दै हुनुहुन्थ्यो'

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराति भएको सम्झौताले आफू आश्चर्यमा परेको बताएका छन् । 

सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म पनि ‘केही भएको छैन’ भनेको प्रचण्डले बैठकमा सुनाए ।नयाँ घटनाक्रमका सम्बन्धमा मंगलबार पार्टी पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नसोचेको अवस्था आएको बताएका हुन् ।प्रचण्डले वर्तमान सत्ता गठबन्धन जोगाउनलाई आफूले अन्तिमसम्म पहल गर्ने बताएका थिए । 

‘आज पनि केपीजी राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गर्न आउनुभएको थियो । कूटनीतिक कुरा नगरौं, खुला कुरा गरौं भनेर मैले भनेँ,’ प्रचण्डको ब्रिफिङलाई उद्धृत गर्दै माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलले  भने । 

कांग्रेस–एमालेबीच भएको सहमति बाहिर नआए पनि उनीहरूबीच नयाँ सरकार बनाउने विषयको कुरा टुंगिसकेको ब्रिफिङ प्रचण्डले गरेका थिए ।

‘हिजो रातिसम्म पनि ओलीजीले केही भएको छैन भन्नुभएको थियो । राति सवा १२ बजे हस्ताक्षर गरेको सन्दर्भमा कुरा स्पष्ट भइसक्यो । संविधान संशोधन गर्नेबारे जे कुरा आएको छ, त्यसबारे सबै दलसँग छलफल गर्छौं,’ प्रचण्डले भने । 

अहिलेसम्म पनि सरकार ‘इन्ट्याक’ रहेकाले संसद् सामना गरेर जाने मनस्थितिमा आफू रहेको प्रचण्डले बताएका थिए ।‘विना कारण गठबन्धन फेर्नुपर्ने आवश्यकता थिएन, संसद् सामना गरेरै अगाडि बढ्नुपर्छ भन्ने धारणा छ,’ प्रचण्डले भनेका थिए ।

बैठकमा अन्य सदस्यहरूले भने धारणा राख्न पाएनन् ।बैठकपछि सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले तत्काल राजीनामा नगर्ने बरु संसद् फेस गर्ने बताए ।कांग्रेस र एमालेबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने गरी सोमबार राति सहमति भएको थियो । 

प्रतिक्रिया दिनुहोस