सर्वोच्चले पद थमौती गरिदिएका फणीन्द्र पुन: बने मन्त्री

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, ११ : ३९
सर्वोच्चले पद थमौती गरिदिएका फणीन्द्र पुन: बने मन्त्री

कास्की। सर्वोच्च अदालतको अन्तरिम आदेशले सांसद पद थमौती भएका गण्डकी प्रदेशका फणीन्द्र देवकोटा पुन: मन्त्री बनेका छन् ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार देवकोटालाई उर्जा जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् ।

लगत्तै उनले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेकपा (माओवादी केन्द्र)को चिह्नबाट चुनाव जितेका देवकोटाले 'फ्लोर क्रस' गरेर कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत दिएका थिए ।सोही अभियोगमा माओवादीले कारबाही गरेपछि उनको सांसद र मन्त्री दुवै पद गएको थियो ।

आफूले माओवादीको चिह्न प्रयोग गरे पनि नेपाल समाजवादी पार्टीको सांसद भएकाले अर्को पार्टीले कारबाही गर्न नमिल्ने जिकिरसहित उनी सर्वोच्च पुगेका थिए ।सर्वोच्चले उनको मागबमोजिम अन्तरिम आदेश दिएपछि पुन: मन्त्री बन्ने बाटो खुलेको हो । देवकोटाको मुद्दाको अन्तिम किनारा भने लाग्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस