बुढी गण्डकीको काम अघि बढाउन डा. बाबुरामले प्रधानमन्त्रीलाई बुझाए मागपत्र

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, १५ : २६
बुढी गण्डकीको काम अघि बढाउन डा. बाबुरामले प्रधानमन्त्रीलाई बुझाए मागपत्र

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।

सरकारले जलाशययुक्त आयोजनाको रूपमा निर्माण गर्न खोजेकोमा डा. भट्टराईले बहुउद्देश्यीय आयोजनाको रूपमा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माग पत्र बुझाउन डा. भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरूसहित सिंहदरवार पुगेका थिए ।

सो टोलीमा सहभागी नेसपा नेता मानुषी यमी भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको काम भदौ मसान्तभित्र सुरु गर्न सरकारलाई अल्टिमेटम दिइएको जानकारी दिइन् । काम सुरु नभए सशक्त आन्दोलन गर्ने जानकारी पनि प्रधानमन्त्री ‘प्रचण्ड’लाई गराइएको उनले बताइन् । ‘भदौ पछि पनि यसलाई सरकारले गम्भीरतापूर्वक नलिइएमा आन्दोलनकै रूपमा जाने चेतावनी दिएका छौँ,’ मानुषीले भनिन् ।

उनका अनुसार बुढीगण्डकी आयोजनामा सरकारको खर्च बढेको बढ्यै भए पनि प्रगति एकदमै न्यून छ । त्यसैले यसलाई तत्काल काम अघि नबढाए आयोजना ‘कोल्याप्स’ हुने खतरा रहेको उनले बताइन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई मागपत्र बुझाउनु अघि डा. भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस