तेजाबपीडित परियार खतरामुक्त

आइतबार, १४ असोज २०७५, २० : ०२
तेजाबपीडित परियार खतरामुक्त

चितवन । तेजाप छर्कि धारिलो हतियार प्रहारबाट गम्भीर घाइते वसन्ती परियारको अवस्था खतरामुक्त भएको छ ।

गत सोमबार साँझ कावासोती नगरपालिका वडा नं १६ डण्डा बजारकी २७ वर्षीया परियारलाई छिमेकी युवकले तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए ।

गम्भीर परियारको भरतपुर अस्पतालमा सोही राति शल्यक्रिया गरिएको थियो । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानले परियारको अवस्था खतरामुक्त भएको बताउनुभयो । शुरुमा उनलाई अस्पतालको अतिसघन कक्षमा राखेर उपचार राखिएकामा अहिले सघन उपचार कक्षमा सामान्य अवस्थामा राखिएको छ । प्रधानका अनुसार शल्यक्रिया गर्दा पेटमा राखिएको फोहर फाल्ने पाइप आज झिकिएको छ । परियारलाई थप सङ्क्रमणबाट जोगाउन सघन कक्षमा राखिएको प्रधानले बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण पौडेलले परियारको अवस्था सुधार हुँदै गएको भन्दै तेजाबले पोलेको ठाउँमा परीक्षणका लागि प्लाष्टिक सर्जनलाई झिकाइएको बताउनुभयो । घाइतेको परिवारले थप उपचारका लागि काठमाडौँ लैजाने बताइरहेको भए पनि यहीँ उपचार हुने भएकाले हतार नगर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

घाइतेको शनिबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहितको टोलीले भेट गरी आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको थियो । परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकामा गम्भीर चोट लागेको थियो । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकामा शल्यक्रिया गरेको छ ।

परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ । अस्पतालले आँखाको चिकित्सक झिकाएर परीक्षणसमेत गराएको छ । परियार तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाप छर्किएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस