अटोमा छुटेको साँढे तीन तोला सुन फिर्ता गर्ने चालकलाई सम्मान

आइतबार, १४ असोज २०७५, १९ : ४७
अटोमा छुटेको साँढे तीन तोला सुन फिर्ता गर्ने चालकलाई सम्मान

चितवन । चितवनमा अटो रिक्सामा छुटेको साँढे तीन तोला सुन, पाँच हजार नगद र लत्ताकपडासहितको झोला फिर्ता गर्ने अटो चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सम्मान गरेको छ । यही असोज १२ गते साँझ लंकुबाट हाकिमचोक जाने क्रममा भरतपुर महानगरपालिका–८ की क्षेत्रकुमारी खरेलको निलो कालो रंगको झोला अटोमा छुटेको थियो । ना २ ह १८०८ नम्बरको अटो चालक भरतपुर–२२ पटिहानी निवासी हरिशंकर परियारले छुटेको झोला सकुशल खरेललाई बुझाई दिएका हुन् ।

अटोमा सुनसहितको महत्वपूर्ण सामान हराएपछि खरेलले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सामान हराएको बारे जानकारी गराएकी थिइन् । सो पश्चात ट्राफिक सबै क्षेत्रमा रहेका ट्राफिक युनिटलाई सर्कुशल समेत गरेको थियो । तर अटो चालकले आफै खरेलको घरमै लगेर सामान बुझाएका थिए । अटो चालकमा इमान्दारिता हुन्छ भन्ने उदाहरण परियारले प्रस्तुत गरेका कारण सम्मान गरिएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

झोलामा महत्वपूर्ण सामान भएको थाहा पाउँदा पाउदै पनि इमान्दारिताका साथ झोला बुझाईएको अटो चालक परिवारले बताए ।

प्रतिक्रिया दिनुहोस