श्री एयरलाइन्सले गर्‍यो भरतपुर विमानस्थलमा परीक्षण उडान

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, ११ : ५७
श्री एयरलाइन्सले गर्‍यो भरतपुर विमानस्थलमा परीक्षण उडान

चितवन । भरतपुर विमानस्थलमा निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले आज परीक्षण उडान गरेको छ। श्री एयरलाइन्सको ८० सिट क्षमताको जहाज विमानस्थलमा अवतरण भएको हो।

भरतपुरको १२ सय मिटरको धावनमार्गमा ८० सिट क्षमताको जहाज परीक्षण भएको हो । भरतपुरमा बुद्ध एयरको ४८ सिट क्षमताको जहाजले मात्रै उडान भर्दै आएको छ। धावनमार्ग छोटो भएको कारण यति एयरलायन्सले भने पहिलै नै उडान हटाएको थियो । ठूला जहाज अवतरणपछि भाडादर कम हुने अपेक्षा गरिएको छ । 

नागरिक उड्यन मन्त्रालयको अनुमतिपछि नियमित उडान गर्ने श्री एयरलायन्सका अध्यक्ष सुधिर मित्तलले बताए । ‘काठमाडौंबाट उडान भरेपछि धेरै उचाइ लिन सकिन्न । तर पनि हामी निकै सहज तरिकाबाट अवतरण गरेका छौं । यसमा हामी थप अध्ययन र विभागबाट अनुमति पाएपछि नियमित उडान गर्छौं,'उनले भने ,‘नियमित उडानको क्रममा सबै अध्ययन गरेपछि तोकिने भाडादर केही कम पक्कै हुनेछ । ’

भरतपुर विमानस्थलको विस्तारको क्रम चलिरहेको छ । भरतपुर महानगरपालिकाको पहलमा विमानस्थलको धावनमार्ग बढाएर ठूलाहाज र रात्रीकालिन उडान गराउन लागिएको हो । नेपाली सेनाको घोडा प्रजननन् केन्द्रलाई शक्तिखोरमा स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग बढाइँदैछ । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठूलो मिहेनतपछि भरतपुरमा ठूलो जहाज अवतरण भएको बताइन् । विमानस्थलको विस्तारले भरतपुरमा ठूला जहाज आउने विश्वास व्यक्त गरिन् । उनी मेयर निर्वाचित भएपछि कार्यपालिकाको पहिलो बैठकले भरतपुर विमानस्थलको विस्तारको एजेण्डा पास गरेर अघि बढाएको हो। ‘सात वर्षदेखि लगातारको मिहिनेतमा हामी सफल भएका छौं । भरतपुरको विकास ,पर्यटन र औधोगिक विकासले पनि विमानस्थल बढाउनुपर्ने देखियो । जनताको सुविधाका लागि लागिपरेका छौं।’