काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले देशका विभिन्न ठाउँमा बनाएका भ्यूटावर फोहोर गर्ने र युवाले लागुपदार्थ खाने ठाउँ बनेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै सुवालले युवाहरू के गर्दैछन् भनेर सम्बन्धित मन्त्रालयले हेर्नुपर्ने बताएका हुन् ।
‘सरकारले देशका केही ठाउँमा भ्यूटावर बनायो । त्यहाँ फोहोरमैला फालिएको छ । युवा लागुपदार्थ खाएर बस्ने ठाउँ भएको छ । यस्तोमा युवा तथा खेलकुद मन्त्रालय के हेरेर बसको छ ? युवाहरू त्यहाँ किन जान्छन् भनेर ध्यान जानुपर्छ,’ उनले भने ।मन्त्री र मन्त्रालय भए पनि त्यसअनुरूप युवा लक्षित कार्यक्रम ल्याउन नसकेको सुवालले बताए ।
‘मन्त्री र मन्त्रालय छन् । काम छैन । भोलिको युवा आजको बालबालिका हो । युवा भइसक्दा बिग्रिसकेको हुन्छ । १८ वर्ष पुगेपछि मात्रै मेरो जिम्मा भनेर हुँदैन । त्यति बेलासम्म कुलतमा फसिसकेको हुन्छ,’ उनले भने ।सुवालले मन्त्रीले आफूखुसी बजेट बाँडेकोमा पनि आपत्ति जनाए ।
‘नेपालीमा उखान छ दिउँसै लुट्नेलाई डकैत भनिन्छ । विदेशीसँग लिएको ऋण र अनुदानबाट मन्त्रीले आफ्नो जिल्लामा मात्रै बजेट लानुलाई के भन्ने ? १५ अर्ब रे । आफू मन्त्री भएकोमा ८ अर्ब र आफूलाई मन्त्री बनाउनेलाई ७ अर्ब रे,’ सुवालले भने, ‘यो पनि हुन्छ ? सामान्य जनताले लुट्यो भने डकैत भनेर थुन्ने मन्त्रीले यस्तो काम गर्यो भने के भन्ने ? त्यसकारण यस्तो बजेट पास गर्नुहुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले जिल्ला समन्वय समिति खारेज गर्नुपर्छ : प्रेम सुवाल
सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ : प्रेम सुवाल
सेना र प्रहरीको नेतृत्व निर्वाचनबाट सम्बोधन गर्नुपर्छः सांसद सुवाल
देश विकास गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः सांसद सुवाल