चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, १९ : ५२
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । 

चिकित्सा शिक्षा आयोगको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चिकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको बताए । 

“मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्ने आवश्यकता छ । यस कार्यमा अरु सबै सरोकार भएकाहरूले पनि सहयोग तथा सहकार्यमा गर्नुपर्छ”, उनले भने। 

प्रधानमन्त्री दाहालले आयोगबाट सम्पादित कार्यलाई चिकित्सा शिक्षा र सेवा प्रवाह सुधारको सकारात्मक एवं अभिन्न पाटोका रूपमा लिएको समेत बताए । 

प्रतिक्रिया दिनुहोस