टी–२० विश्वकप : यस्तो छ ‘सुपर–८’ मा पुग्ने देशहरुको समिकरण

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, १० : १७
टी–२० विश्वकप : यस्तो छ ‘सुपर–८’ मा पुग्ने देशहरुको समिकरण

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा ‘सुपर–८’ चरणका खेलहरू नेपाली समय अनुसार, बुधबार रातिदेखि सुरु हुनेछ । ‘सुपर–८ चारण’ मा पुगेका आठवटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

‘सुपर–८ चारण’ को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेका छन् । ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेको हो । 

जारी विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेका चारवटा राष्ट्रले यसअघि नै टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । भारतले सन् २००७ मा सम्पन्न पहिलो संस्करणको उपाधि जितेको थियो । अस्ट्रेलियाले सन् २०२१ मा सम्पन्न सातौँ संस्करणको उपाधि चुमेको थियो ।

यसैगरी वेस्ट इन्डिज र इङ्गल्यान्डले हालसम्म दुई–दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा टी–२० विश्वकप जितेको थियो । इङ्गल्यान्डले भने सन् २०१० र सन् २०२२ मा टी–२० विश्वकप उचालेको थियो । 

यसअघि उपाधि जितिसकेका दुई राष्ट्र भने यो विश्वकपको समूहगत चरणबाटै बाहिरिएका छन् । सन् २००९ को च्याम्पियन पाकिस्तान यसपटक समूहगत चरणबाटै घर फर्कियो । यसका अतिरिक्त सन् २०१४ मा सम्पन्न पाँचौँ संस्करणको विजेता श्रीलङ्का पनि यसपटक समूहगत चरणभन्दा अगाडि बढ्न सकेन ।

प्रतिक्रिया दिनुहोस