भारत र बंगलादेशबिचको अभ्यास खेल न्यूयोर्कस्थित नयाँ रंगशालामा

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, ११ : ५६
भारत र बंगलादेशबिचको अभ्यास खेल न्यूयोर्कस्थित नयाँ रंगशालामा

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । उक्त विश्वकप लागि तयारी पारिएको अमेरिकाको न्यू योर्कस्थित ‘नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम’ को निर्माण कार्य पुरा भइसकेको छ ।

उक्त स्टेडियमको औपचारिक उद्घाटन पनि भइसकेको छ । त्यो रंगशालामा हालसम्म कुनै खेल खेलिएको छैन । तर, औपचारिक रुपमा विश्वकप सुरु हुनुअघि नै उक्त रंगशालामा अभ्यास खेल खेलिने भएको छ । स्थानीय आयोजकले जनाए अनुसार, विश्वकपअघि उक्त रंगशालामा भारत र बंगलादेशबिचको अभ्यास खेल खेलिने छ । भारत र बंगलादेशबिचको अभ्यास खेल जुन १ तारिखमा खेलिने छ ।

भारत र बंगलादेशबिचको अभ्यास खेलका क्रममा दर्शकका लागि पनि रंगशाला खुला गरिने आयोजकले जनाएको छ । ‘भारत र बंगलादेशबिचको अभ्यास खेलका क्रममा हामी दर्शकलाई स्वागत गर्न आतुर छौँ,’ टी–२० विश्वकपका प्रमुख कार्यकारी अधिकृत ब्रेट जोन्सले भनेका छन् ।

भारतले विश्वकप अघि यही एउटा अभ्यास खेलमात्र खेल्नेछ । अन्य राष्ट्रले भने दुई–दुई वटा अभ्यास खेल खेल्नेछन् । टी–२० विश्वकपमा दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल पनि यही स्टेडियममा खेलाइने छ । उक्त खेल जुन ९ तारिखमा खेलिने छ ।

‘नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम’ कुल ३४ हजार दर्शक क्षमताको रहेको छ । यो स्टेडियमको उद्घाटन गत साता गरिएको थियो । उद्घाटन कार्यक्रममा न्यू योर्क सहरमा रहेका विभिन्न खेलका चर्चित खेलाडीहरूको उपस्थिति रहेको थियो ।

रंगशालाको उद्घाटन समारोहमा विश्वकै सबैभन्दा तीव्र गतिका धावक उसेन बोल्ट पनि उपस्थिति भएका थिए । यसका अतिरिक्त वेस्ट इन्डिजका चर्चित क्रिकेटर सर कर्टली एम्ब्रोस, पाकिस्तानका सोएब मलिक, इङ्ल्यान्डका लियाम प्लंकेटलगायतका क्रिकेट पनि सहभागी भएका थिए । 

अमेरिकी क्रिकेट खेलाडी कोरी एन्डर्सन र मोनांक पटेल पनि कार्यक्रममा उपस्थित थिए । टी–२० विश्वकपअघि नेपालले पनि दुई वटा अभ्यास खेल खेल्नेछ । नेपालले पहिलो अभ्यास खेल मे २७ तारिखमा क्यानडासँग खेल्नेछ । नेपालले आफ्नो दोस्रो अभ्यास खेल भने मे ३० तारिखमा आयोजक राष्ट्र अमेरिकासँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस