एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, १५ : ५१
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा बन्ने तीन वटा विद्युत् सबस्टेसनमध्ये दुई वटाको ठेक्का सम्झौता भएको छ ।यसअघि न्यु बुटवल सबस्टेसन (लट-२) को ठेक्का सम्झौता भइसकेकोमा शनिबार मात्रै लट-१ अन्तर्गतको रातमाटे सबस्टेसनको पनि ठेक्का लागेको छ । तीन लटको यो परियोजनामा अब लट-३ अर्थात् न्यु दमौली सबस्टेसनको मात्रै ठेक्का लाग्न बाँकी छ । यो ठेक्का सम्झौता पनि चाँडै हुने एमसीए नेपालले जनाएको छ ।

तर, यो परियोजना निर्माणमा टेन्डर हालेका कम्पनीमध्ये टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ भारतले सबैभन्दा कम अर्थात् ३ करोड ९८ लाख अमेरिकी डलर (करिब ५ अर्ब २९ करोड रुपैयाँ)रकम प्रस्ताव गरेको छ । यो रकम लट-३ को लागत अनुमानभन्दा ११ प्रतिशत बढी भएकाले यस खण्डको निर्णयमा ढिलाइ भइरहेको बताइएको छ ।

लट-२ अन्तर्गत नुवाकोटको बेलकोटगढी-७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण हुनेछ । यही लटअन्तर्गत लप्सीफेदी र हेटौँडामा पनि सबस्टेसनको काम गर्नुपर्ने छ ।प्रसारण लाइन निर्माणको टेन्डरमा प्राविधिक रूपमा योग्य ठेकेदारमध्ये सबैभन्दा कम प्रस्ताव गर्ने भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनीसँग एमसीए नेपालले निर्माण सम्झौता गरेको हो । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले शनिबार यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

रातमाटेमा ४ सय केभी ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गरिने एमसीए नेपालले जनाएको छ । एक हजार मेगाभोल्ट एम्पियर क्षमताको रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनहरूमध्ये एउटा हुने पनि जनाइएको छ ।

५ करोड १६ लाख अमेरिकी डलर (करिब ६ अर्ब ८६ करोड रुपैयाँ ) मा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणको लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने पनि एमसीए नेपालले जनाएको छ ।