एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०८१, १४ : २३
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति

काठमाडौँ । अमेरिकी सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अनुदानमा नेपालमा सञ्चालन भइरहेको परियोजनाका निश्चित काम गर्न अनुमति दिएपछि एमसीए नेपालले खरिद सूचना निकाल्न थालेको छ ।

‘अमेरिकी सरकारले विदेश सहयोगको समीक्षा गरिरहेको अवस्थामा एमसीसीको नेपाल कम्प्याक्ट अन्तर्गतका केही काम पुनः सुरु गर्न अनुमति दिएको छ,’ एमसीए नेपालले जारी गरेको सूचनामा छ, ‘तर, यो अनुमतिले यसको समीक्षाबाट कुनै नतिजा प्राप्त भएको भन्ने अर्थ भने लाग्दैन ।’

यसरी अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्यहरू रहेको एमसीए–नेपालले जनाएको छ ।

‘एमसीए–नेपालले पुनः सुरु भएका कामको व्यवस्थापन गरिरहेको छ र पारदर्शिताप्रति प्रतिबद्ध छ,’ उसको विज्ञप्तिमा छ । एमसीए–नेपाल अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको जनाएको छ । यसबीच आफूबाट पालना हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र एमसीसीसँग समन्वय गरिरहेको पनि उसले जनाएको छ ।

यसअघि २ फागुन २०८१ मा एमसीसीले नेपाल सरकारलाई इमेल गरी वैदेशिक सहायता पुनर्मूल्यांकन तथा पुनर्संरचना गर्ने डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि एमसीसीबाट हुने खर्च स्थगन गर्न भनेको थियो । त्यसपछि एमसीए नेपालका काम अघि बढ्छन् कि बढ्दैनन् भन्ने विषयमा अन्योल थियो ।

अमेरिकी सरकारले केही निश्चित काम अघि बढाउन अनुमति दिएपछि एमसीसी अनुदानले निरन्तरता पाउने संकेत मिलेको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग हालै भारतको नयाँ दिल्लीमा भएको भेटमा अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद् वरिष्ठ निर्देशक रिक्की गिलले एमसीसीको सहयोग निरन्तर कायम रहनेमा आफूहरू आशावादी रहेको बताएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस