सरकारलाई वाग्लेकाे सुझाव : नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिऔँ

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८१, १४ : ४५
सरकारलाई वाग्लेकाे सुझाव : नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिऔँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । उनले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।

आइतबार प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दबाब दिए ।

उनले रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।उपसभापति वाग्लेले भने, ‘यसपालि फन्ड नछुट्ट्याइएको तर यो बजेटको सबभन्दा महत्त्वपूर्ण अंश, जुन अलिखित छ– नयाँ चरणको आर्थिक सुधार ।

त्यसमा असाध्यै ध्यान दिन पनि म हार्दिक आग्रह गर्दछु । प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेन्डामा हामी प्रवेश गर्नुपर्ने भयो । त्यसमा लगानी पुगेको छैन । लागत घटाउनुपर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो ।’

उपसभापति वाग्लेले क्लाइमेट फाइनान्स नै अबको विकास फाइनान्स भएको कुरालाई पनि सरकारले बिर्सन नहुने बताए । 

प्रतिक्रिया दिनुहोस