कोशी सरकार गठनको मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, ०८ : ५१
कोशी सरकार गठनको मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ।  कोशीमा एमाले संसदीय दलका नेता  हिक्मत कार्की संविधानको धारा १६८ (५) अनुसार वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

कार्कीले वैशाख ३१ गते प्रदेश सभामा विश्वासको मत लिए। कार्कीको विश्वासको मतको प्रक्रियाअघि नै अदालतमा रिट दर्ता भएको थियो। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते नै रिट दर्ता गरेका थिए। 

सरकार गठन असंवैधानिक भएको जिकिर रिटमा गरिएको छ। एक मुख्यमन्त्री बहाल रहेकै बेला प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका कार्कीलाई नियुक्त गरेको जिकिर रिटमा गरिएको थियो। 

एकै पटक दुई मुख्यमन्त्री रहने परिकल्पना संविधानले नगरेको र प्रदेश प्रमुखको निर्णय गैरसंवैधानिक भएको दाबी रिटमा गरिएको छ।  कोशी सरकार गठनको विवाद यसअघि पनि सर्वोच्चमा पटक पटक पुगेको थियो। 

प्रतिक्रिया दिनुहोस