राजनीतिलाई जिम्मेवार परिपक्व र सभ्य बनाउनुपर्छ: अध्यक्ष ओली

सफल खबर संवाददाता

शुक्रबार, २५ जेठ २०८१, १४ : २६
राजनीतिलाई जिम्मेवार परिपक्व र सभ्य बनाउनुपर्छ: अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेनलगायत कसैसँग अनावश्यक विवादमा पर्नै नचाहेको बताएका छन् ।बालेनको नामै नलिई ओलीले भैँसीको ढाडमा लात्ती हानेर झिँगा दङ्ग पर्ने गरेको उनले टिप्पणी गरे ।

चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा ओलीले आफू परिपक्व र सभ्य राजनीतिको पक्षमा रहेको बताएका हुन् ।

‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो थाहा पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ ४ लात हाने यसपल्ट भनेर । म कसैसँग अनावश्यक विवादमा पर्न चाहिन्न, राष्ट्रिय राजनीतिलाई जिम्मेवार परिपक्व र सभ्य बनाउनुपर्छ । राजनीतिलाई असभ्य बनाउनु हुँदैन,’ ओलीले भने ।​

गिरीबन्धु टी स्टेटको जग्गा सम्बन्धमा मन्त्रिपरिषद्‌बाट नीतिगत निर्णय गराएको भन्दै मेयर बालेनले ओलीविरुद्ध आक्रोश पोखेका थिए ।त्यसपछि एमाले नेताहरूले बालेनविरुद्ध अभिव्यक्ति दिएका छन् ।ओलीले शिक्षा मन्त्री सुमना श्रेष्ठ सम्बन्धमा दिएको अभिव्यक्तिको पनि बचाउ गरे ।