सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २५ जेठ २०८१, १२ : ४२
सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्ने बताएका छन् । त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सबै तहका पार्टी कमिटीहरूमा सहकारी संस्थाहरूको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

'सहकारी आन्दोलनको महत्त्व ठीक ढङ्गले बुझ्ने, जनताको दैनिक जीवन र सरोकारका प्रश्नहरूको अध्ययन गर्ने, त्यसको नेतृत्व गर्दै क्रान्तिकारी जनमत निर्माण गर्न सकिन्छ,' प्रधानमन्त्रीले भने, 'तसर्थ, पार्टीका सबै तहका कमिटीहरूमा सहकारी संस्थाहरूको अध्ययन, अनुगमन, मूल्याङ्कन, सहभागिता र नेतृत्वजस्ता विषयमा छलफल गर्ने, सहकारी संस्थाहरूमा आबद्ध भएर यस आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउन पहलकदमी लिनुपर्दछ ।'

सहकारीको आधारभूत सिद्धान्तबाट च्युत हुँदा कोभिड महामारीलगायत विश्वव्यापी रूपमा देखिएका आर्थिक सङ्कटको प्रत्यक्ष प्रभावका कारण नेपालका सहकारीहरूले सङ्कटको सामना गरिरहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारी क्षेत्रका समस्याहरू सम्बोधन गर्न सरकारले नीतिगत र व्यवहारिक समाधानका विभिन्न उपायहरू अवलम्बन गर्दै आइरहेको बताए ।

सहकारी क्षेत्रको व्यवस्थापनका लागि सरकारले यस वर्षको बजेटमा कानुनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीति बमोजिम सहकारी सञ्‍चालन हुने व्यवस्था गरेको उनले जानकारी दिए ।प्रधानमन्त्रीले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस