मधेशको मुख्यमन्त्री बन्दै जनमत पार्टीका सतिश सिंह

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, ११ : २९
मधेशको मुख्यमन्त्री बन्दै जनमत पार्टीका सतिश सिंह

काठमाडौँ। मधेश प्रदेशमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहको नेतृत्वमा सरकारको लागि दाबी पेश गर्ने तयारी भएको छ । सिंह जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको संसदीय क्षेत्रबाट निर्वाचित प्रदेश सांसद हुन् । सप्तरी-२ बाट राउत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् भने सिंह सप्तरी- २(१) बाट निर्वाचित भएका हुन् ।

जनमत पार्टीले सरकारको नेतृत्व गर्ने विषयमा यसअघि नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भइसकेको थियो ।

'जनमत पार्टीबाट कसलाई मुख्यमन्त्री बनाउने भन्ने कुराको निर्णय गर्न अध्यक्ष राउतलाई अधिकार दिएको थियो,'जनमत पार्टीका एक नेताले भने, 'उहाँले सिंहलाई नै मुख्यमन्त्रीको रूपमा सार्ने बताउनुभएको छ । आधिकारिक धारणा केही समयमा आउँछ ।'

सिंहको बुवा लोकतान्त्रिक सामाजवादी पार्टी(लोसपा)नेपालबाट राष्ट्रिय सभामा सदस्य छन् । सिंह साविकको राजपाबाट २०७४ सालमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ सालको स्थानीय तहको चुनवामा पराजित भएका थिए । 

स्थानीय तहमा पराजित भएका सिंह जनमत पार्टीबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।सिंह जनमत पार्टीका संसदीय दलका नेता भने होइनन् । राउतकै संसदीय क्षेत्रबाट निर्वाचित महेश प्रसाद यादव संसदीय दलका नेता छन् । 

उनी यसअघि पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी भइसकेका छन् ।बुधवार राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई शुक्रबार बिहान १० बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् । 

यसअघि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार पदमुक्त भएका थिए । बुधवार प्रदेशसभाबाट विश्वासको मत पाउन असमर्थ भएपछि उनी मदमुक्त भएका हुन्।प्रदेशसभामा उपस्थित रहेका कुल १०३ सांसदमध्येबाट यादवको पक्षमा ५० मत आयो भने उनको विपक्षमा ५३ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस