अहोरात्र काम गरेर तीन महिनाभित्र काम सम्पन्न गछौं : सभापति थापा

संसदीय छानबिन समिति बैठक

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १६ : १०
अहोरात्र काम गरेर तीन महिनाभित्र काम सम्पन्न गछौं : सभापति थापा

काठमाडौं। सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिका सभापति सूर्य थापाले आजको मितिले तीन महिनाभित्र काम सम्पन्न गर्ने बताएका छन् । त्यसका लागि अहोरात्र काम गर्ने सदस्यहरूबीच छलफल भएको उनले बताए ।

संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको पहिलो बैठकपछि सभापति थापाले संसद्ले दिएको कार्यादेश अनुसार काम गर्ने बताएका हुन् ।आजको बैठकले आन्तरिक कार्यविधि मस्यौदा बनाउन सचिवालयलाई निर्देशन दिएको छ ।

‘सहकारी समस्या समाधान गर्नेगरी छलफल भएको छ । आज पहिलो बैठकका रूपमा मात्र लिएका छौं । अर्को बैठक शुक्रबार नै गर्नेगरी तयारी गरेका छौं,’ थापाले भने ।संसदीय विशेष छानबिन समिति भएकोले विज्ञको सहयोग लिनुपर्ने भएकोले मस्यौदासहित ठोस सुझाव आउन सचिवालयलाई निर्देशित गरिएको थापाले बताए ।

 

‘हाम्रा पूर्वनिर्धारित कार्यक्रम भएकोले बैठक बस्न एक हप्ता ढिलो भयो, अहोरात्र काम गरेर भने पनि तीन महिना भित्र काम सम्पन्न गर्ने सहमति गरेका छौं,’ थापाले भने ।

सहकारी घोटालाबारे छानबिन गर्न प्रतिनिधि सभाले जेठ १५ गते ७ सदस्यीय विशेष समिति बनाएको थियो ।बुधबारको पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस