एकैपटकमा १६ सय किमी गुड्न सक्ने हाइब्रिड कार ल्याउँदै बीवाईडी, छिट्टै चीनबाहिर निर्यात हुने

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १४ : १९
एकैपटकमा १६ सय किमी गुड्न सक्ने हाइब्रिड कार ल्याउँदै बीवाईडी, छिट्टै चीनबाहिर निर्यात हुने

काठमाडौं। चिनियाँ प्रसिद्ध कार निर्माता कम्पनी बीवाईडीले एकैपटक एक हजार माइलभन्दा बढी गुड्न सक्ने हाइब्रिड कार निर्माणको तयारी थालेको छ ।आजको समयमा चार्ज नगरी या ट्यांकीमा तेल नहालीकन एकैपटक हजार माइल अर्थात् १ हजार ६०० किलोमिटर गुड्नु लगभग सबै कारका लागि असम्भवजस्तै छ ।

अमेरिका र युरोपमा यो प्रकारका सवारीसाधनको डिजाइन निर्माण गरिएपनि व्यावहारिक रुपमा बीवाईडीले मात्र यस्ता कार आम उपभोक्ताका लागि ल्याउन लागेको हो। बीवाईडीले गरेको दाबीअनुसार सील ०६ डीएम–आई मोडेलमा प्रयोग गरिने नयाँ हाइब्रिड पावरट्रेन प्रणालीले उक्त कारलाई एक हजा २५० माइलसम्म यात्रा गर्न सक्षम बनाउनेछ । यसका लागि बीचमा कुनै इन्धन भर्ने वा चार्ज गर्ने आवश्यकता हुनेछैन ।

यो दाबीले हालका विद्युतीय गाडीहरूको दायरालाई धेरै पछाडि पार्नेछ । अहिले चलनचल्तीका विद्युतीय कारको औसत माइलेज फूल चार्जमा ३०० माइल र अधिकतम ५०० माइल छ । 

बीवाईडीले बनाउन खोजेको कारको माइलेज यसको दोब्बरभन्दा पनि बढी हुनेछ । प्रतिस्पर्धामा रहेका अमेरिकी हाइब्रिड कारहरूको औसत माइलेजभन्दा पनि दोब्बर माइलेज बीवाईडीका कारहरूले दिने कम्पनीको दाबी छ ।बीवाईडीको नयाँ फिफ्थ जेनेरेसन प्रणालीले दुई मध्यम आकारका सेडानलाई ८१ माइल प्रतिग्यालन बराबरको क्षमता प्रदान गर्न सक्छ । 

विशेषगरी ब्याट्री सकिएपछि पनि पावरट्रेनले ६२ दशमलव १ माइलका लागि २ दशमलव ९ लिटर मात्र इन्धन खपत गराउँछ, जुन अहिलेको इन्धनबाट सवारीले खर्च गर्ने इन्धनभन्दा निकै कम हो । 

यो लामो रेन्जले बीवाईडीका प्लग–इन हाइब्रिड कारहरूलाई एकै चार्ज र पूर्ण ट्यांक इन्धनमा सिंगापुरदेखि बैंकक, न्युयोर्कदेखि मियामी या जर्मनीको म्युनिखदेखि स्पेनको म्याड्रिडसम्म यात्रा गर्न सक्ने बनाउँछ । 

यो उपलब्धि बीवाईडीको इन्धन खपत घटाउने तर्फको पछिल्लो महत्त्वपूर्ण कदम रहेको कम्पनीले जनाएको छ । यो कम्पनीले सन् २००८ मा पहिलोपटक हाइब्रिड कारको प्रक्षेपण गरेको थियो ।

विद्युतीय सवारी साधन हाइब्रिडको तुलनामा केही महँगो हुन्छ भने रेन्ज पनि निकै धेरै हुन्छ । एउटा विद्युतीय कारले फूल चार्जमा औसत ३०० देखि अधिकतम ५०० माइल रेन्ज दिन सक्छ भने हाइब्रिड कारले एक हजार २५० माइल रेन्ज दिन सक्ने बीवाईडीको दाबी छ । 

हाइब्रिड कारका लागि बाटोमा चार्जिङ स्टेसन खोज्नुपर्ने आवश्यकता हुँदैन । तर विद्युतीय कारका लागि लामो दूरीको बाटोमा चार्जिङ स्टेसन आवश्यक पर्छ । ग्यास–इन्धनबाट चल्ने कारहरूमा केही सामान्य कमजोरीहरू देखिन्छन् । तर २००८ देखि अहिलेसम्म कम इन्धन खपत गर्नेबारे निरन्तर शोध भइरहेका छन् । 

बीवाईडीले हालसालै बजारमा ल्याउने घोषणा गरेको क्यूआईएन एल र सील ०६ को शुरूको मूल्य करिब १४ हजार ४०० अमेरिकी डलर हुने बताइएको छ । गत मे २८ मा टोयोटाले ब्याट्रीसँगै हाइड्रोजन, ग्यासोलिन वा अन्य इन्धनमार्फत चल्न सक्ने कारहरूको नयाँ इन्जिन प्रोटोटाइपहरू अनावरण गरेको थियो । 

सोही कार्यक्रममा बीवाईडीले यसको प्लग–इन हाइब्रिडले दुई हजार ५०० किमीको रेन्ज हासिल गरेको घोषणा गर्याे । 'यी सुधार हाल चीनमा निर्मित कारहरूका लागि हुन्, तर तिनीहरू चाँडै निर्यात हुने अपेक्षा गरिएको छ,' कम्पनीले जनाएको छ, ‘विद्युतीय र हाइब्रिड सवारी साधनहरूले आफ्नो दायरा विस्तार गर्दैछन् ताकि केही उपभोक्ताहरूको ग्यासबाट स्विच गर्ने बारेको चिन्ता समाधान गर्न सकियोस् ।'

बीवाईडीले २०२२ को शुरूमा मात्र जिवाश्म इन्धनद्वारा मात्र सञ्चालित कारहरूको निर्माण बन्द गरेको थियो । त्यससँगै ब्याट्री–चार्जिङ पूर्वाधारको अभाव भएका बजारहरूमा हाइब्रिड कारको निर्यात बढाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस