रतुवा खोलामा एक्कासि आएको बाढीले जीप बगायो, दुई जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, ०९ : ०१
रतुवा खोलामा एक्कासि आएको बाढीले जीप बगायो, दुई जनाको मृत्यु

दमक । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ । 

सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बा सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी रतुवा खोलामा एक्कासि आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

प्रहरीका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका-५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र  माङ्सेबुङ-३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको हो । निरु लिम्बु घाइते छिन् । उनको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ । 

चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा चालकसहित जम्मा ६ जना सवार थिए । 

प्रतिक्रिया दिनुहोस