कैलाली र कञ्चनपुरका बस्तीमा बाढी पस्यो

१० जनालाई स्थानान्तरण

सफल खबर संवाददाता

विहीबार, ०६ भदौ २०८१, ०७ : २३
कैलाली र कञ्चनपुरका बस्तीमा बाढी पस्यो

कैलाली । कैलालीमा वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्न गई कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेपछि १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ।

चौबिस घरधुरी डुबान भएको सोही बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई स्थानान्तरण गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

स्थानीय आशिदेवी चौधरी, समली चौधरी, शीतलदेवी चौधरी, शान्ताराम चौधरी, टीकाराम चौधरी, रामजशनी चौधरी, रुनम चौधरी, साहिल चौधरी, सुरनी चौधरी र कोल्ला चौधरीगरी १० जनालाई स्थानान्तरण गरिएको हो।

उक्त स्थानमा बीओपी खोनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गान्धीपराज स्याङ्ताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा सात जनाको टोली खटिएको छ।

त्यसैगरी कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका–१० झलारीको नहर टोलका दुईदर्जन बढी स्थानीय बासिन्दाको घरभित्र वर्षातको पानी पसेको छ। 

पानीको निकास साँघुरो हुँदा वर्षाको पानी स्थानीय बासिन्दाको घरभित्र पसेको हो। वर्षाको पानी घरभित्र पस्दा स्थानीय बासिन्दाका लत्ताकपडा, खाद्यान्न, भाडाँकुडालगायत अन्य अत्यावश्यक सामग्रीमा क्षति पुगेको छ। 

स्थानीय भिमराज अवस्थीले वर्षात्को पानी घरभित्र पस्दा नवसिर्जना सहकारी संस्थाको भण्डारण गरेर राखिएको डिएपी, युरिया, पोटासलगायत मलमा निकै क्षति पुगेको बताए।

प्रतिक्रिया दिनुहोस