बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित

एजेन्सी

विहीबार, १३ भदौ २०८१, १० : १३
बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित

एजेन्सी । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् ।

बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका छन् । ती क्षेत्रका फेनी, कोमिला, मौलवीबजार, हबीगञ्ज र चटगाउँ सबैभन्दा बढी प्रभावित छन् ।

बंगलादेशको विपत व्यवस्थापन एवम् राहत मन्त्रालयका अनुसार बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भइसकेको छ । केही व्यक्तिहरु बेपत्ता छन् । लाखौं विस्थापित भएका छन् ।

रेलवे लाइन र राजमार्ग जलमग्न भएका छन् । राजधानी ढाका र चटगाउँबीचको सडक सम्पर्क टुटेको छ । फेनी, कमिला, र सिलहट जिल्लामा पनि यस्तै अवस्था छ ।

पहिरोका कारण चटगाउँ र कोक्स बजारमा रेलवे लाइनमा क्षति पुगेको छ । यस्तै अवस्था दोहाजरी र नजिरहाट रेलमार्गमा पनि छ ।

बंगलादेश बाढीको चपेटामा पर्दा स्थानीयको आक्रोश भने भारततिर छ । केही दिनयता बंगलादेशका संगठनहरुले आफ्नो देश बाढी, पहिरो र डुबानको चपेटामा पर्नुमा भारत जिम्मेवार रहेको आरोप लगाइरहेका छन् ।

बंगलादेश सरकारको पर्यावरण र जलवायु परिवर्तन तथा जल संशाधन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले भारतले नै दोषी देखाएका थिए । उनले भारतले त्रिपुराको डम्बुर जलविद्युत् परियोजनाको बाँध खोल्नुअघि बंगलादेशलाई सूचना नदिएका कारण समस्या भएको बताएका थिए ।

बंगलादेशका सञ्चार माध्यमले पनि यही विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन प्रसारण गरे । स्थिति यति गम्भीर भयो कि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति नै निकालेर खण्डन गर्नुपर्‍यो ।

प्रतिक्रिया दिनुहोस