एकीकृत दलित विकास प्राधिकरण तत्कालै स्थापना गर्छौं : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १९ : ११
एकीकृत दलित विकास प्राधिकरण तत्कालै स्थापना गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बजेटमा व्यवस्था गरेको एकीकृत दलित विकास प्राधिकरण तत्कालै स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका अवसरमा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको ‘छुवाछुत मुक्त राष्ट्र घोषणा: अवसर र कार्यान्वयनका चुनौती’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले गठन आदेश जारी गरेर भएपनि तत्कालै प्राधिकरण स्थापना गर्ने बताएका हुन् ।

उनले भने, ‘दलित समुदायको समग्र विकासका लागि एउटा एकीकृत विकास प्राधिकरण चाहिन्छ भनेर सरकारले बजेटमा यस्तो घोषणा गरेको छ । यो पनि राष्ट्रिय दलित आयोग जत्तिकै दूरगामी महत्वको छ । यसमा हामी सबैले फेरि एक पटक जोड दिएर व्यवहारिक रूपमा कार्यान्वयन गर्नका लागि ऐनको व्यवस्था गर्नुपर्ने हुन्छ । तर सरकारले ऐन भन्दा अगाडि गठन आदेशबाट भए पनि यसको प्रक्रिया अघि बढाउँछ ।’

प्रधानमन्त्री दाहालले युगौँदेखि भौग्दै आएको उत्पीडनको क्षतिपूर्ति नपाएसम्म दलित समुदायको मुक्ति भएको मान्न नसकिने बताए । उनले संवैधानिक र कानूनी रूपमा दलित समुदायले अधिकार प्राप्त गरेको भए पनि कार्यान्वयनमा समस्या भइरहेकाले निरन्तर त्यसका लागि लडिरहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस