टी-२० विश्वकप : नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान पराजित

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १० : १४
टी-२० विश्वकप : नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान पराजित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ। सोमबार बिहान भएको ओमानविरुद्धको खेल नामिबियाले सुपर ओभरमा जितेको हो।

सुपर ओभरमा नामिबियाले तीन चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाएको थियो। सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको ओमानले एक विकेट गुमाएर मात्र १० रन जोडेपछि नामिबियाले विजयी सुरुवात गरेको हो।

सोमबार बिहान भएको खेलमा ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो।

सुरुमा ब्याटिङ गरेको ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाएका थिए। जिशान मकसूद २२ रन जोड्दा अयान खान १५ रनमा आउट भएका थिए। शकील अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।

ओमानका ओपनर कश्यप प्रजापति पहिलो र कप्तान अकिब इलियास दोस्रो बलमा शून्यमा आउट भएपछि उसको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २१ रन दिँदै चार विकेट लिएका थिए भने डेभिड विसेले तीन विकेट हात पारेका थिए। जेहार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड स्कोल्जेडले एक विकेट लिएका थिए।

जवाफी ब्याटिङमा नामिबियाका लागि जान फ्राइलेंकले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बल खेल्दै ६ चौका प्रहार गरे। निकोलास डेभिनले २४ रन जोड्दा कप्तान गेर्हार्ड इरास्मसले १३ रन बनाएका थिए। नामिबियाका अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेन ।

अन्तिम ओभरमा पाँच रन आवश्यक भएको नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको थियो।