राजनीतिमा अस्थिरता बढ्दा परिवर्तन विरोधीले ठाउँ पाए : एकीकृत समाजवादी

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, १४ : ५६
राजनीतिमा अस्थिरता बढ्दा परिवर्तन विरोधीले ठाउँ पाए : एकीकृत समाजवादी

काठमाडौं। नेकपा एकीकृत समाजवादीले राजनीतिक अस्थिरता, अविश्वास र बेरोजगारी वृद्धि हुँदा परिवर्तन विरोधीले ठाउँ पाएको बताएको छ ।​दशौं राष्ट्रिय महाधिवेशन (असार १६–२०) काठमाडौंमा गर्नेबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले नागरिकलाई आशावादी बनाउन नसक्दा अन्योल र अराजकता बढेको बताएका हुन् ।

‘वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बुद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको छ र उनीहरू सामाजिक तथा साम्प्रदायिक सद्‌भाव र एकतालाई खलबल्याउने प्रयत्न गर्दैछन्,’ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख भनिएको छ, ‘राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको छ ।

मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्दै मुख्यतः रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनु पर्ने भएको छ ।’समाजवादीले महाधिवेशनबाट यी क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्ने सङ्कल्प गरेको पनि उनले बताए ।

’दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा अघि बढौँ’ भन्ने मूल नाराका महाधिवेशन गर्न लागेको जानकारी पनि नेपालले दिए । 

‘हामीले तय गरेका तात्कालिक र दीर्घकालिन कार्यभारहरूले नेपालका कम्युनिष्ट तथा समाजवाद पक्षधर सबै शक्तिहरूलाई सुदूर भविष्यसम्म वैचारिक तथा साङ्गठानिक मार्गदर्शन गर्ने छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलनमा नयाँ चरणको एकताको आधार तयार गर्नेछन् र अहिलेका आर्थिक, सामाजिक तथा राजनीतिक गतिरोध, अन्योल र अस्थिरताको अन्त्य गर्दै राष्ट्रिय राजनीतिमा प्रगतिशील तथा लोकतान्त्रिक स्थायित्वको प्रत्याभूतिका लागि नयाँ ढोका खोल्ने छन् ।’

विद्रोहपछिका ३३ महिनामा धेरै चुनौतीको सामना गरे पनि त्यसबाट शिक्षा प्राप्त गरेको उनको भनाइ छ । ‘विद्रोहपछिका विगत ३३ महिनामा हामीले एकपछि अर्को चुनौतीको सामना गर्दै र महत्वपूर्ण शिक्षा आर्जन गर्दै आएको छौं,’ नेपालले भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा के छ भने कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणका लागि हामीले लिएको पहलकदमीलाई महाधिवेशनद्वारा संस्थागत गर्ने ऐतिहासिक कार्यभार सम्पन्न गर्ने विन्दुमा आइपुगेका छौं ।’

नेपाली विशेषतामा आधारित समाजवादी कार्यक्रम नवीन अभ्यास भएको नेकपा एसको भनाइ छ । ‘संविधानको रक्षाका लागि हामीले गरेको विद्रोह मुलुकको राजनीतिक इतिहासमा एउटा विशिष्ट योगदान थियो,’ पार्टीका तर्फबाट नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकको समृद्धि र समाजवादी रूपान्तरणको रूपरेखामा आधारित राजनीतिक प्रतिवेदन, नेपाली विशेषतामा आधारित समाजवादी कार्यक्रम, त्यसलाई बहन गर्न सक्ने क्रान्तिकारी तथा लोकतान्त्रिक पार्टी निर्माणका ठोस प्रस्ताव र विधानसहित महाधिवेशनको आयोजना हुनु नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा ऐतिहासिक महत्वको परिघटना हो ।’

प्रतिक्रिया दिनुहोस