बाँसबारी, बालमन्दिर, गिरीबन्धु र टिकापुर जग्गा सबैको फाइल खोल्छौँ : सांसद झा

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, १३ : ३४
बाँसबारी, बालमन्दिर, गिरीबन्धु र टिकापुर जग्गा सबैको फाइल खोल्छौँ : सांसद झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बालमन्दिर जग्गा, बाँसबारी जग्गा, टिकापुरको जग्गा, भुटानी शरणार्थी, गिरीबन्दु र टेरामक्स यो सबैको फाइल खोल्ने बताएका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले १ सय २२ दिन मात्रै सरकारमा आउँदा कांग्रेसले सबै कुरा रास्वपाले बिगारेको जस्तो व्यवहार गरेको बताए ।

उनले भने– ‘हामी राजनीतिमा आएको २३ महिना भयो, संसद्‌मा आएको १७ महिना भयो, सरकारमा आएको दुई पटक गरेर १२२ दिन भयो । तर अहिले केही दल र दलका केही अग्रजहरूले यो सबै कुरा तिमीहरूले नै बिगार्यौं भन्दै आफू पन्छिन खोज्ने प्रयासहरू पनि देखिन्छ ।

सदनमै देखिन्छ, आज पनि देखियो । हामीले हामीभन्दा लगभग २६ हजार ९ सय ३४ दिनको जेठो पार्टीलाई तिमीले नै सबै कुरा बिगार्‍यौँ र हामी नै सबै ठिक पार्छौ भन्ने क्रेडिट लिन आएका हैनौँ ।’

राजनीतिक परिवर्तनमा कसैको कपी राइट नहुने र सबैको योगदान उत्तिकै हुने उल्लेख गरे । रास्वपा जेलमा यति दिन बस्यौँ, बागबजारमा यति दिन टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा नआएको बताउँदै उनले अरू धेरै आधार रहेको र केही गर्न आएको बताए ।

उनले चुरे दोहनका कारण तराईमा पानीको हाहाकार हुँदा यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो भन्दै प्रश्न समेत गरे । एकै पटक ६ सय ठाउँमा डँडेलो लागेको बेला संसद्‌मा बोल्न नदिएको गुनासो समेत उनले गरे । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय छानबिन समिति बनाउन तयार रहेको र सदनमा प्रश्न सोधेपछि त्यसको जवाफ सदनमा दिन पाउनुपर्ने बताए । व्यक्तिवादी संसदीय छानबिन समिति बन्न नहुने भनेकोमा अहिले त्यही विषयमा छानबिन समिति बनेको भन्दै उनले संसद् अवरुद्ध गर्नुको अर्थ के हो भनेर प्रश्न समेत गरे ।

२०५४ साल असोज १६ गते पहिलो संसदीय समिति बनेको र त्यसयता बनेका १४ वटा संसदीय समिति कुनै पनि व्यक्ति केन्द्रित नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस