सशस्त्र प्रहरीले बरामद गर्‍यो १ करोड १ लाख नगद

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, ०९ : ३३
सशस्त्र प्रहरीले बरामद गर्‍यो १ करोड १ लाख नगद

काठमाडौँ । सशस्त्र प्रहरीले गएराति सुनसरीबाट हुन्डीको आशङ्कामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ ।

सुनसरी जिल्लाको  हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाई छिपाइ राखेको सो रकम बरामद भएको हो । 

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसँगै कार र  चालक सुनसरी जिल्ला  हरिनगर गाउँपालिका–५  बस्ने अन्दाजी बर्ष ३७ का ईसा अन्सारीलाई समेत  नियन्त्रणमा लिइएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान  तथा कारबाहीका लागि  राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रिया थालिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।