विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, १६ : ४३
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौँ । विभिन्न स्थानबाट लागु औषधसहित १६ जना पक्राउ परेका छन् । सुनसरी, कैलाली, कपिलवस्तु, पाँचथर लगायतका जिल्लाहरूबाट १६ जना पक्राउ परेका हुन् ।प्रहरीका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–६ तिनुवा नहरबाट लागुऔषध गाँजा करिब २८ किलो ३ सय ग्रामसहित धरान उपमहानगरपालिका–१६ बस्ने २० वर्षीय अर्जुन राई समेत ३ जना पक्राउ परेका छन् ।

उनीहरु शुक्रवार दिउँसो पक्राउ परेका हुन् ।  अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले को.१ ह २०५२ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी अटो चालक राई र अटोमा सवार अन्य २ जनालाई पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कस्थित डोटी बैतडी होटलबाट  ९ सय ४० मिलिग्राम खैरो हेरोइनसहित सोही नगरपालिका–२ बस्ने ३० वर्षीय प्रमोद पनेरू समेत ५ जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई शुक्रवार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरियाबाट  ब्राउन सुगर  ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता, पाँचथरको फिदिम नगरपालिका–१ बरडाँडाबाट ब्राउन सुगर २ ग्राम ७ सय मिलिग्राम, ट्रामाडोल ४५ क्याप्सुल र स्पास्पेन ६ ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१० घर भई सोही नगरपालिका–११ तृतीया बस्ने ३० वर्षीय हुसेनबहादुर कटुवाल रहेका छन् । उनलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको थियो ।

त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका–१० कोरिया चोकबाट  ५ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–१० बस्ने ३२ वर्षीय फिरोज मुसलवान र २७ वर्षीय सलाउदिन गद्धी रहेका छन् । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरीले लु.७ प ६५४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै चितवनको राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय सूर्यबहादुर तामाङलाई करिब ४ किलोग्राम गाँजा सहित शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यता, झापाको अर्जुनधारा नगरपालिका–८ बाट  ३ सय १० मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१० ब्याड डाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका–९ प्रणामी मन्दिर छेउ घर बताउने २५ वर्षीय विकाश सहनी रहेको प्रहरीले जनाएको छ । । प्रहरी चौकी शनिश्‍चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी शनिवार बिहान वीरगन्ज महानगरपालिका–१६ बाट लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ नवलपुर बस्ने २८ वर्षीय सुरज विक रहेका छन् । उनको साथबाट डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नुर्फिन ५२ एम्पुल र नाईट्राभेट ९ सय ट्याब्लेट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस