लागु औषध दुव्र्यसनी विरुद्ध लड्न सरकार कसैसँग पनि भिक नमाग्ने नीति दिन्छ : मन्त्री यादव

रासस

बुधबार, १२ असार २०८१, १४ : १२
लागु औषध दुव्र्यसनी विरुद्ध लड्न सरकार कसैसँग पनि भिक नमाग्ने नीति दिन्छ : मन्त्री यादव

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले लागु औषध दुरुपयोग तथा ओसार पसार रोक्नको लागि सरकारले तत्काल कार्यविधि बनाउने बताएका छन् । उनले दुव्र्यसनिविरुद्ध लड्न सरकार सक्षम भएको जिकिर गरे ।

बुधबार लागु औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृह मन्त्रालयद्वारा आयोजित मूल समारोहमा यादवले गृहमन्त्रालयसँग समन्वय गरेर लागु औषधको दुरुपयोगलाई रोक्नको लागि कार्यविधि बनाउने बताए । यस्तै मन्त्री यादवले त्यसको लागि छुट्टै बजेटको व्यवस्था गरेको जानकारी दिँदै तत्काल कार्यविधि बनाउन आजै निर्देशन दिने उल्लेख गरे ।

उनले भने, ‘लागु औषधका जुन सेवनकर्ता छन्, उनीहरुको सुधारको लागि गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले मिलेर एउटा कार्यविधि बनाउने र सात वटै प्रदेश र सबै जिल्लाहरुमा यसलाई लागू गर्न म आजै मन्त्रालयमा निर्देशन दिन्छु ।’

उनले सरकार आफ्ना युवा पुस्तालाई दुव्र्यसनीको प्रयोगबाट बचाउनको लागि सक्षम रहेको उल्लेख गर्दै निशूल्क औषधोपचारको व्यवस्था गर्ने चर्चा गरे । ‘नेपाल सरकार सक्षम छ, आफ्नो युवा युवती बचाउनको लागि र आजैबाट अठोट लिन्छु । आजबाट स्वास्थ्य मन्त्रालय गृह मन्त्रालयसँग समन्वयन गरेर देशको युवा पुस्तालाई कसरी सुरक्षित गर्ने, लागु औषधबाट कसरी छुटाउने, निशूल्क औषधी र उपचार कसरी दिने भन्ने कुरामा लाग्छ,’ मन्त्री यादवले भने ।

यस्तै, यादवले नेपालमा विभिन्न संघ संस्थाले दुव्र्यसनिविरुद्ध सहयोग गर्दै आइरहेको भन्दै त्यसलाई स्वागत गर्ने तर, सरकारलाई नै गाली गर्ने प्रवृति भने मान्य नहुने बताए । उनले दुव्र्यसनी विरुद्ध लड्न चार मन्त्रालय सक्षम रहेको भन्र्दै सरकार लागु औषध दुव्र्यसनीका लागि कसैसँग भिक नमाग्ने नीति लिएर काम गर्ने दाबी गरे ।

उनले भने, ‘नेपालमा विभिन्न संस्थाको सहयोग छ त्यसको हामी स्वागत गर्छौ । नेपाल सरकारको मञ्चमा बसेर नेपाल सरकारलाई गाली गर्ने प्रवृति बन्द हुनुपर्छ । कुनै पनि संस्थाको सहयोग लिन नपर्ने गरी स्वास्थ्य, गृह, युवा तथा खेलकुद मन्त्रालय मिलेर नेपालका समस्याहरु समाधान गर्ने छौ । त्यसको लागि हामी लाग्ने छौ । कसैको अगाडी भिक माग्न नपर्ने नीतिको साथ हामी अगाडि बढ्छौ,’ यादवले भने । उनले मन्त्रालयको जिम्मेवारी लिएपछि लागु औषधको प्रयोगलाई कसरी नियन्त्रण र सुधार गर्ने तथा कुलतमा रहेका युवालाई सुधार्न कार्य गरिरहेको जिकिर मन्त्री यादवले गरे ।

 

प्रतिक्रिया दिनुहोस