मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

शुक्रबार, १८ जेठ २०८१, १५ : ०१
मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको हो।  त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा मुगुको सोरु गाउँपालिका वडा नं.७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको अख्तियारको अभियोग पत्रमा दाबी गरिएको छ।

वास्तविकभन्दा कम चौडाइ कायम गरेको, फर्जी प्रतिवेदनका आधारमा भुक्तानी दिएको र निर्माण सम्झौता बमोजिम काम नगरेको अख्तियारले जनाएको छ । अख्तियारले जनही १३ लाख ७२ हजार बिगो कायम गरी कैद र सोही जरिवाना गर्न अभियोग पत्रमा मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस