हराएको सामान फिर्ता पाउँदा हरि थापा दंग

विहीबार, १३ पुस २०७४, १० : ५७
हराएको सामान फिर्ता पाउँदा हरि थापा दंग

पोखरा । “हराएको मनिब्याग यसरी कसैले बोलाएरै देलाजस्तो मलाई लागेको थिएन”– स्याङ्जाको चापाकोट नगरपालिका साँखरका हरि थापाले भने ।
थापाले गत मंसिर १८ गते नेपाली एवं विदेशी गरी लगभग रु १० हजार नगदसहित सक्कल नागरिकता, सवारी चालक अनुमतिपत्रसहितका महत्वपूर्ण कागजात भएको मनिब्याग हराएका थिए ।

थापाको हराएको मनिब्याग पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीको बागमारा स्थायी बसोबास भई हाल दुग्ध विकास संस्थान, पोखरा बिक्री केन्द्रका प्रमुख हरिराम पौडेलले फेला पारेपछि बुधबार कार्यालयमा नै बोलाएर फिर्ता गरेका छन् ।

कास्कीको भरतपोखरी र निर्मलपोेखरीको सिमानामा पर्ने द्वार गौँडामा थापाको मनिब्याग फेला परेपनि ब्यागभित्र उहाँको सम्पर्क नम्बर फेला पार्न नसक्दा भने आफूलाई कसरी सम्बन्धित व्यक्तिलाई बुझाउन सकिएला भन्ने कुराले लामो समय चिन्तित बनाएको पौडेलले बताए ।

“फेला परेको ब्याग कसरी सम्बन्धित व्यक्तिलाई चाँडो बुझाउँ भन्ने लागेको थियो”– उनले भने, “थापाको मोबाइल नम्बर खुल्ने कुनै कागजात मनिब्यागमा नभेटिए पनि त्यहाँ रहेको हिमालयन बैंकको एटिएम कार्ड नम्बरमार्फत बैंकबाट मोबाइल नम्बर लिएर उहाँलाई खबर गरेको हुँ ।”
फेला पारेको ब्याग सम्बन्धित व्यक्तिलाई बुझाउन पाउँदा आफूलाई निकै हर्षित बनाएको पौडेलले बताए ।

थापालाई भने आफूले आश नै मारिसकेको सामान यसरी फिर्ता पाइन्छ भन्ने कत्ति पनि लागेको थिएन । “हराएको सामान भाग्य भए फिर्ता पाइन्छ त भन्थे”– थापाले भने, “सामान हराए पनि इमान्दार मानिसको हातमा परे पाइन्छ भन्ने कुरा आज प्रत्यक्षरुपमा चरितार्थ भएको छ ।”

प्रत्येक व्यक्तिको सामानको आआफ्नै महत्व हुने भएकाले हराएको सामान पाउने जो–कोहीले इमान्दारिताका साथ फिर्ता गर्ने बानीको विकास गर्नुपर्नेमा थापाको जोड छ ।(रासस)

प्रतिक्रिया दिनुहोस