विश्वकै पहिलो मोडुलर क्रिकेट स्टेडियम जहाँ टी–२० विश्वकपका आठ खेल खेलाइँदैछ

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, ११ : २४
विश्वकै पहिलो मोडुलर क्रिकेट स्टेडियम जहाँ टी–२० विश्वकपका आठ खेल खेलाइँदैछ

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । अमेरिकाका लागि क्रिकेट खासै चर्चित खेल होइन । अमेरिकामा क्रिकेटको विश्वकप आयोजना हुन लागेको पनि यो पहिलो पटक हो ।

आगामी टी–२० विश्वकपका खेलहरू वेस्ट इन्डिजका ६ र अमेरिकाका तीनवटा स्टेडियममा खेलाइने भएको छ । आगामी विश्वकपका लागि तयार पारिएको अमेरिकाको तीनमध्ये एउटा स्टेडियमको चर्चा यतिबेला निकै चुलिएको छ ।न्यु योर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियम विश्वकै पहिलो मोडुलर क्रिकेट स्टेडियम भएकाले पनि यसले निकै चर्चा पाएको हो । यो स्टेडियम आगामी टी–२० विश्वकपलाई ध्यानमा राखेर मात्र तयार पारिएको हो । यो अस्थायी प्रकृतिको क्रिकेट स्टेडियम हो ।

नवौँ टी–२० विश्वकपमा दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिचको खेल पनि यही स्टेडियममा खेलाइने छ । भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा हुनेछ। यो स्टेडियममा उद्घाटन मे २१ तारिखमा विश्वकै सर्वाधिक तीव्र गतिका धावक उसेन बोल्टले गरेका थिए ।

आठ पटकका ओलम्पिक स्वर्ण पदकधारी धावक बोल्टले यो स्टेडियमको उद्घाटनका क्रममा ब्याटिङ पनि गरेका थिए । उद्घाटन समारोहमा वेस्ट इन्डिजका प्रभावशाली क्रिकेटर कर्टनी वाल्सको पनि उपस्थिति रहेको थियो । यसका अतिरिक्त अन्य केही चर्चित क्रिकेटर पनि उद्घाटन समारोहमा उपस्थित थिए । 

यो स्टेडियम तयार पार्न करिब चार अर्ब रुपैयाँ खर्च भएको बताइएको छ । यो स्टेडियममा अस्ट्रेलियामा तयार पारिएको पिचको प्रयोग गरिएको छ । दर्शकलाई बस्नका लागि भने फर्मुला–वन को स्ट्यान्ड प्रयोगमा ल्याइएको छ । 

टी–२० विश्वकपको नवौँ संस्करण सकिए लगत्तै यो स्टेडियमलाई पुनः पार्कमा परिणत गरिने छ । यो स्टेडियम तयार पार्न स्टिल र सजिलै हटाउन सकिने धातुहरूको प्रयोग गरिएको छ । यो स्टेडियममा फुटबल र बेसबल स्टेडियममा प्रयोग गरिने बरमुडा घास पनि लगाइएको छ । 

यो अस्थायी प्रकृतिको स्टेडियम भएकाले विश्वकप क्रिकेट सकिएपछि यसमा अन्य खेल गतिविधि पनि सञ्चालन गर्न सकिने छ । विश्वकपका लागि पूर्वाधार तयार पार्न समयको कमी र पर्यावरणको मुद्दाका कारण स्थायी प्रकृतिको संरचना तयार नपारेर मोडुलर क्रिकेट स्टेडियम बनाइएको समाचारमा जनाइएको छ । 

टी–२० विश्वकपका लागि ६ महिनाभित्र न्यु योर्कमा नयाँ स्टेडियम बनाउनु पर्ने बाध्यता थियो । यति कम समयमा अस्थायी प्रकृतिको रंगशाला बनाउनुको विकल्प थिएन । अस्थायी प्रकृतिको स्टेडियम बनाउँदा यसले पर्यावरणमा पनि कुनै असर पुर्‍याउने सम्भावना थिएन । 

नवौँ विश्वकप सकिएपछि यो स्टेडियमलाई पहिलेकै अवस्थामा ल्याएर स्थानीय समुदायलाई हस्तान्तरण गरिने बताइएको छ । पछिल्लो समय जुन सहरमा खेलकुदका ठुला गतिविधि निकै कम हुन्छन्, त्यस्तो स्थानमा अस्थायी प्रकृतिको रंगशाला उपयुक्त विकल्पको रूपमा देखिन थाले को छ । 

नासाउ काउन्टी क्रिकेट स्टेडियमको दर्शक क्षमता ३४ हजार रहेको छ । अस्थायी प्रकृतिको भए पनि यो स्टेडियममा सामान्यदेखि विशिष्ट दर्शकका लागि समेत उपयुक्त व्यवस्था गरिएको छ । यसका अतिरिक्त सञ्चारकर्मीका लागि आवश्यक सम्पूर्ण सुविधासमेत उपलब्ध गराइएको छ । 

नासाउ काउन्टी क्रिकेट स्टेडियममा ड्रप–ईन पिचको प्रयोग गरिएको छ । यो स्टेडियमका लागि १० वटा पिच अस्ट्रेलियाको एडिलेड सहरमा तयार पारिएको थियो । करिब ३० टन भारी ती पिच गत डिसेम्बरमा पानी जहाजमार्फत अमेरिकाको फ्लोरिडा ल्याइएको थियो ।

त्यसपछि फ्लोरिडामा पाँच महिनासम्म पिचको हेरचाह गरी अझ उत्कृष्ट बनाइएको थियो । त्यसपछि त्यो पिच नासाउ काउन्टी क्रिकेट स्टेडियम ल्याएर जडान गरिएको थियो । १० वटा पिचलाई फ्लोरिडाबाट सडक मार्ग हुँदै न्युयोर्क पुर्‍याउन करिब चार दिन समय लागेको थियो ।

फ्लोरिडाबाट पिचलाई नासाउ काउन्टी क्रिकेट स्टेडियमसम्म पुर्‍याउन ३० टन क्षमताभन्दा बढी भार वहन गर्न सक्ने ट्रक र कन्टेनरको प्रयोग गरिएको थियो । पिच ओसार्ने क्रममा सर्वसाधारणका लागि केही समय सडक पनि अवरुद्ध गरिएको थियो । 

न्यु योर्कको मौसम पिच तयार पार्न उपयुक्त नरहेकाले अस्ट्रेलियाबाट ल्याएपछि पिचलाई पाँच महिनासम्म फ्लोरिडामा राखिएको जानकारी आईसीसीका ईभेन्ट प्रमुख क्रिस टेटलीले बताएका छन् । उनका अनुसार, अस्ट्रेलियाबाट सिधै न्यु योर्क ल्याइएको भए चिसोका कारण पिचमा समस्या देखिन सक्थ्यो ।

क्रिकेट विश्वकपमा लगातार दोस्रो पटक ड्रप–ईन पिचको प्रयोग गरिएको हो । यसअघि सन् २०२२ मा अस्ट्रेलियामा सम्पन्न टी–२० विश्वकपमा पनि यस्तै पिचको प्रयोग गरिएको थियो । त्यतिबेला अस्ट्रेलियाको एडिलेड ओभल मैदानमा यस्तो पिच प्रयोग गरिएको थियो । 

यसैगरी आईसीसी एकदिवसीय विश्वकपमा पनि ड्रप–ईन पिच प्रयोगमा ल्याइसकिएको छ । सन् २०१५ मा सम्पन्न विश्वकपका क्रममा न्युजिल्यान्डस्थित अकल्यान्ड स्टेडियममा यस्तो पिच प्रयोगमा ल्याइएको थियो । 

नासाउ काउन्टी क्रिकेट स्टेडियममा नवौँ विश्वकपको कुल आठ खेल खेलाइने छ । जुन ३ तारिखमा दक्षिण अफ्रिका र श्रीलंकाबिच यो स्टेडियममा विश्वकपको पहिलो खेल खेलिने छ । यही स्टेडियममा जुन १ तारिखमा भारत र बंगलादेशबिच अभ्यास खेल पनि खेलिने कार्यक्रम छ । 

विश्वकप क्रिकेटमा मोडुलर स्टेडियम प्रयोगमा ल्याइएको यो पहिलो पटक हो । तर, फर्मुला–वन, मोटो जीपी, ओलम्पिक, बेसबल, फुटबलजस्ता विश्व चर्चित खेलमा भने यसअघि पनि मोडुलर स्टेडियमको प्रयोग हुँदै आएको छ ।