काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य पदार्थहरू ढुङ्गा/बालुवा ठेक्का दिँदा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूले ३६ लाख ७८ हजार ५४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
भेरीनदी गोछेखोलाको नदीजन्य पदार्थहरू उत्खनन् तथा संकलन र विक्री वितरण कार्यमा अनियमितता भएको भन्दै मुद्दा दायर भएको हो ।छिन्चुखोला र डुङ्गिखोलाबाट नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र बिक्री वितरण कार्यको लागि एकआपसमा मिलोमतो गरी अनियमितता गरिएको अभियोगपत्रमा उल्लेख छ ।
धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआउने तथा कार्यालयले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्थाबमोजिम छनोट भएको सफल बोलपत्र दाताले समयमा सम्झौता गर्न इन्कार गरे पनि धरौटी समयमा जफत नगरेको अभियोगपत्रमा उल्लेख छ ।
अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्ने एवं खरिद कानूनले निर्देश गरेको प्रक्रिया विपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्ने जस्ता कानून विपरीतका कार्य गरिएको उल्लेख छ ।
उक्त मुद्दामा तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा, इन्जिनियर विजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्ज्वल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सहलेखापाल छविलाल सुनारलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।
त्यसैगरी न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोप्राइटर हरिबहादुर बुढा क्षेत्री र नवराज कन्स्ट्रक्सनका नवराज ढकाल, एन्जल कन्स्ट्रक्सनका भीमबहादुर बुढा क्षेत्रीलाई समेत प्रतिवादी बनाई मुद्दा दायर भएको अख्तियारका प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मन्त्रिपरिषद् निर्णयमा अख्तियारको प्रवेशबारे आन्तरिक छलफलमा जुट्यो एमाले
प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर