सत्ताबाहिर हुँदा कांग्रेस बगरको माछाजस्तो छटपटायो : अध्यक्ष ओली

सफल खबर संवाददाता

मंगलबार, ०८ जेठ २०८१, १३ : ३९
सत्ताबाहिर हुँदा कांग्रेस बगरको माछाजस्तो छटपटायो : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एकछिन सरकारमा नहुँदा पानीबाट निकालेको बगरको माछाजस्तो छटपटाएको टिप्पणी गरेका छन् ।विराटनगर विमानस्थलमा मंगलबार बिहान संचारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले कांग्रेस एकछिन सत्तामा नहुँदा छट्पटिएर पानीबाट निकालेको बगरको माछाजस्तो फट्याकफट्याक गरेको टिप्पणी गरेका हुन् ।

 ‘बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छट्पटिनु र पानीबाट निकालेको बगरको माछाजस्तो फट्याकफट्याक गरेको छ,’ उनले भने, ‘माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन जेठ ५ गते भएको सहमतिअनुसार कार्यादेश (टीओआर) बने मात्रै काम अगाडि बढ्ने उनले बताए ।  नेपाली कांग्रेसले सहमति तोडेको उनले बताए । ‘५ गते बेलुका सहमति हुन्छ, ६ गते तोड्छ । यो कसले तोड्यो ?’ उनले भने, ‘सत्ता पक्षले अर्घेल्याई गरेको हो ?’ त्यस्तो इस्यु भए अदालत गए भयो ।’ कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भनेर जिकिर गरेको उनको आरोप छ ।

कांग्रेसले आफ्नो मतियार भएर आफ्नानिम्ति काम गरेन भने जसलाई पनि गाली बेइज्जत गर्ने गरेको ओलीले आरोप लगाए । कांग्रेसलाई सम्हालिन उनले सुझाव दिए । ‘आफूलाई सम्हाल्नु पर्‍यो । कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास  र मूल्य–मान्यतामा आउनुपर्छ, उनले भने ।

बजेट जसरी पनि पास हुने उनले बताए । बजेट कसरी पास गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘संसद्भित्र घेराउ भएको छैन । हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदालाउँदै पास भएको देख्नुभएको छैन ? त्यसबेला प्रतिपक्षले यसरी हल्ला गर्नु नै हुँदैन भन्नुहुन्थ्यो, अहिले आफै हल्ला गर्नुहुन्छ, पहिले जसरी पास भएको थियो, अहिले पनि त्यसैगरी पारित हुन्छ,’ उनले भने  ।

सत्ता स्वार्थका लागि एमाले कुद्ने पक्षमा नरहेको उनले बताए । ‘गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेलाई कांग्रेसले बेलुका डेढ वर्षलाई प्रधानमन्त्री भनेर अफर गरेछ,’ उनले भने, ‘त्यो नमानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्यो । त्यो तरिका ठिक भएन । 

‘संविधान बनाउन्जेल सुशील कोइरालाले प्रधानमन्त्री बनेको कुरा स्मरण गर्दै ओलीले त्यसपछि कांग्रेसले धोका दिएको आरोप लगाए । ‘कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन । त्यसपछि कांग्रेसले राजनीतिमा बेइमानी सुरु गरेको हो,’ उनले भने ।