आस्था केसीद्वारा लिखित 'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, ११ : २३
आस्था केसीद्वारा लिखित 'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक

काठमाडौं। साहित्यकार तथा सञ्चारकर्मी आस्था केसीद्वारा लिखित जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक भएको छ ।शनिवार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पुस्तक सार्वजनिक गरेका हुन् ।

१५ वर्षको उमेरमा माओवादी जनयुद्धमा हाेमिएकी केसीले जनयुद्धकाे समयमा आफूले प्राप्त गरेका १५० वटा चिठीहरु संकलन गरेर पुस्तकाकारमा प्रकाशन गरेकी हुन् ।

 

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भुमिगत जीवन बिताइन् । सोही समयमा सहकर्मी याेद्धाहरु, घरपरिवार र नेतागणहरुबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीहरुलाई पुस्तकमा समेटेकी छन् ।

जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दाेलनका आयाम, प्रेमकाे रंगीन अनुभूति, युद्धमाेर्चाका आराेह अवराेह, कार्यक्षेत्रकाे अनुभूति, आत्मीय मन, जसकाे प्रेरणाले कठिन बाटाेमा सहज बनायाे र बाल्यकालका दाैंतरी र घरका पत्र गरी १० भागमा केन्द्रीत गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्ने बताईएकाे छ ।

पुस्तक बिमाेचनमा बाेल्दै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रम प्रचण्डले कालजयी कृतिका लागि आस्था केसीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रम कर्णाली प्रदेशले आयाेजना गरेकाे थियाे । पुस्तक इन्डिगाे इन्कले प्रकाशन गरेकाे हाे ।

लेखक केसीकाे यस अगाडि उज्यालाेकाे खाेजी गजल संग्रह प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस