राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग अध्यक्ष दाहालले गरे छलफल

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, १५ : २१
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग अध्यक्ष दाहालले गरे छलफल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।संसद भवन बानेश्वरमा भएको छलफल सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने विषयमा केन्द्रित रहेको थियो ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने बताएका थिए । आफै निर्णय गर्न सक्छौं भन्ने सन्देश दिन जरुरी रहेको उनको भनाइ थियो ।

'प्रतिनिधि सभामा हुने सहमति/असहमति उहाँहरूले उतै मिलाउनु हुन्छ। हामी परिपक्व र विज्ञ सभाका सदस्यहरूले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो', उनले भने, 'बैठक सुचारू गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूहरूले सहयोग गर्नुहोस् ।'

यस्तै छलफलमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध नगर्ने बताए । तर धन्यवाद प्रस्तावका लागि बस्ने बैठक अवरोध गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस