काठमाडौँ । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाएका छन् ।
मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्दै उनले जसपा नेपाल विभाजन नभए विभाजित गरिएको आरोप लगाएका हुन् । नेपालले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध उभिएको जसपालाई निर्वाचन आयोगले समेत मान्यता दिएकोमा असन्तुष्टि पोखे ।
‘समाजवादी मोर्चामा सहभागी भएको एउटा पार्टी विभाजित गरियो । विभाजित गरिएको मात्र होइन । सरकारबाट निकालियो । आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने तपाईंलाई लाग्ला । होइन निकालियो । मुन्ट्याउने काम मात्र भएन । उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो,’ प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘हिजो काम छँदाको भाँडो काम सकिएपछि ठाँडो भने जस्तै उपेन्द्र यादवको हामीले अवस्था देखिरहेका छौँ ।
तपाईंहरू सबैलाई थाहा छ । केपी ओलीको प्रतिगमनविरुद्ध जुद्धने सिलसिलामा सँगसँगै अगाडि बढेको त्यो पार्टी । निर्वाचन पश्चात् बनेको गठबन्धनको एक महत्त्वपूर्ण घटक त्यो पार्टी विभाजित भयो । विभाजन गरियो । जनता समाजवादी पार्टी नेपालमा नेपाल हटाएर अशोक राईको नेतृत्वमा नयाँ पार्टी निर्माण गरियो । निर्वाचन आयोगले त्यसलाई मान्यता दियो ।’
विभाजन वैधानिक थियो कि थिएन भन्ने कुरा अदालतले नै टुङ्गो लगाउने उनको भनाइ छ । गएको फागुन २१ गते फेरिएको एमाले सहितको नयाँ गठबन्धनमा जसपाले साथ दिएको थियो । सरकारका निवर्तमान उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेका यादव अमेरिका र कतार भ्रमण रहेकै बेला विभाजन भएको थियो । विभाजनपछि यादवले सोमबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंसिरमा हुने स्थानीय तहको उपचुनाव हाम्रो पार्टीको लागि परीक्षा हुनेछ : माधव नेपाल
संविधान संशोधन गर्ने भए खुला बहस गरौँ : माधव नेपाल