संसदको गतिरोध हटाउन भोलिसम्म सत्तापक्ष निष्कर्षमा पुग्छ : केपी ओली

सफल खबर संवाददाता

सोमबार, ३१ बैशाख २०८१, १९ : ४२
संसदको गतिरोध हटाउन भोलिसम्म सत्तापक्ष निष्कर्षमा पुग्छ :  केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद खुलाउने विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् । सभामुख देवराज घिमिरेले सोमबार अपराह्न ओलीसँग टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा सभामुख घिमिरेले संसद अवरोध अन्त्य गर्न र नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संसद सौहार्दपूर्ण हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।

जवाफमा अध्यक्ष ओलीले संसद खुलाउने विषयमा छिटै निष्कर्षमा पुग्ने जवाफ दिएका सभामुखको सचिवालयले जनाएको छ ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारीको बचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग राखेर संसद अवरोध गर्दै आएको छ ।

समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने काँग्रेसको चेतावनी छ । सरकार र सत्ता गठबन्धन भने छानबिन समिति गठन गर्न तयार भएको छैन ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न मंगलबार दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बोलाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने काँग्रेसको चेतावनीपछि सभामुख घिमिरेले शीर्ष नेताहरूसँग संवाद गरेका छन् । सभामुख घिमिरेले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस