एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड : माधव नेपाल

सफल खबर संवाददाता

सोमबार, ३१ बैशाख २०८१, १५ : २०
एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड भएको बताएका छन् । पार्टीको जारी पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा ५७ पेजको राजनीतिक प्रतिवेदन पेश गर्दै माधवले यस्तो बताएका हुन् । 

राजनीतिक प्रतिवेदनमा एमाले ‘व्यक्ति केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्ड’ मा परिणत भएको दाबी गरिएको छ ।  त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीलाई स्वेच्छाचारी, प्रतिगामी र केशरजंग रायमाझीपन्थी भनेका छन् ।

नेकपा एसको नजरमा अन्य दल–रास्वपा र राप्रपा सामन्ती प्रतिक्रियावादीहरूका सेवक, काँग्रेस लोकतन्त्र र संविधानको रक्षक भनेका छन् । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेपालले काँग्रेसलाई लोकतन्त्र र संविधान रक्षाका लागि प्रतिबद्ध शक्ति भन्दै एमालेलाई ती दुवै (लोकतन्त्र र संविधान) का लागि खतरा शक्तिका रूपमा औँल्याएका छन् ।

नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा हुनुपर्ने कुनै पनि गुण केपी ओलीले चलाएको एमालेमा एउटा पनि छैन । एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अङ्गीकार गरेको छैन । उसले कम्युनिष्ट पार्टी विधि पद्धतिमा चल्नुपर्छ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनुपर्छ भन्ने मान्यतासमेत परित्याग गरेको छ । एमाले नेतृत्व जनताको बहुदलीय जनवादी पनि होइन । एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्डमा परिणत भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस