हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका–१ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयलाई भवन अभाव भएको छ ।भवन अभाव भएपछि बालबाविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पढाउन समस्या भएको छ ।
विद्यालयका प्रधानाध्यापक राजु लामाले भने, 'विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।'कक्षा २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गरिँदै आएको बताए । विद्यार्थीले पढाइमा बाधा पुगेको गुनासो गर्ने गरेका उनको भनाइ छ ।
'चार र पाँच कक्षाका विद्यार्थीलाई पनि एउटै कक्षामा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ', प्रधानाध्यापक लामाले भने ।
विद्यालयसँग ६ कोठामात्रै छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकास, एउटामा कक्षा १ का र अर्कोमा कक्षा २, ३ का र बाँकी रहेको एउटा कोठामा चार र पाँच कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गरिँदै आएको शिक्षक सञ्जय फडेराले बताए ।
एउटै कोठामा फरक-फरक कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गराउँदा उनीहरूलाई पढाएको कुरा बुझ्न समस्या हुने गरेको शिक्षक फडेराले बताए ।विद्यालय भवन निर्माणका लागि स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरिएको शिक्षक फडेरा बताउँछन् ।
कक्षा १ मा छात्रछात्रा गरी ३३, कक्षा दुईमा चार, कक्षा तीनमा आठ, कक्षा चारमा चार तथा पाँचमा तीन विद्यार्थी अध्ययनरत रहेका उहाँले जानकारी दिनुभयो । बालविकास कक्षामा ७० विद्यार्थी छन् ।विद्यालयका प्रधानाध्यापकसहित चार स्थायी शिक्षक तथा दुई कार्यालय सहयोगी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १४ : ०२
लेखकबाट थप